काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूले छलफललाई तीव्र बनाएका छन्। सत्ता समीकरण मिलाउन प्रमुख दलहरूले विभिन्न दलसँग वार्ता अघि बढाएका छन्।
सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारीका विषयमा सहमति भइसकेको बताइएको छ। त्यसपछि बहुमत पुर्याउन एमालेले अन्य दलसँग छलफल थालेको हो।
एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठका अनुसार सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग छलफल भइरहेको छ।
“सरकार गठनका लागि दलहरूसँग छलफल तीव्र रूपमा अघि बढेको छ। सरकार गठनको गतिरोध चाँडै अन्त्य गर्ने गरी वार्ता भइरहेको छ,” श्रेष्ठले बताउनुभयो।
यता, वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पनि नयाँ सरकार गठनका लागि सबै दलसँग छलफल गरिरहनुभएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनका अनुसार मुख्यमन्त्री बानियाँले स्पष्ट बहुमत जुटाउन वा वर्तमान सरकारलाई नै निरन्तरता दिन सहयोग गर्न दलहरूसँग आग्रह गर्नुभएको छ।
बागमती प्रदेश सभामा कुल १०४ सदस्य रहेका छन्। सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्।
कांग्रेस नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। तर आवश्यक बहुमत जुट्न नसक्दा सरकार गठनले अझै पूर्णता पाउन सकेको छैन।
अब प्रदेशको सत्ता समीकरणमा साना दलहरूको भूमिका निर्णायक हुने देखिएको छ। कांग्रेस र एमाले दुवै दलले अन्य दलको समर्थन जुटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास जारी राखेका छन्।



































