अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा दिउँसो ३ बजे आयोजना हुने छलफलमा बैंकिङ क्षेत्रको वर्तमान अवस्था, वित्तीय बजारका चुनौती तथा आगामी आर्थिक सुधारका कार्यक्रमबारे छलफल हुने बताइएको छ।

बजेटमा घोषणा गरिएका आर्थिक सुधारका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रमुख वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भएकाले अर्थमन्त्री वाग्लेले बैंकका प्रमुखहरूसँग प्रत्यक्ष छलफल गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ।

छलफलका क्रममा बैंकिङ क्षेत्रमा देखिएका समस्या, कर्जा प्रवाहको अवस्था, लगानी विस्तार, तरलता व्यवस्थापन, निजी क्षेत्रको वित्तीय पहुँच तथा आर्थिक गतिविधि चलायमान बनाउने उपायबारे बैंकका सिइओहरूले आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा वर्गीकृत गरेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू छलफलमा सहभागी हुनेछन्। अर्थ मन्त्रालयले यस भेटलाई सरकारको आर्थिक नीति र वित्तीय क्षेत्रबीच समन्वय बढाउने प्रयासका रूपमा लिएको छ।

वित्तीय क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधार भएकाले बैंकहरूको कर्जा प्रवाह क्षमता, ब्याजदरको अवस्था र लगानी वातावरण सुधार गर्न सरकार र बैंकबीच सहकार्य आवश्यक रहेको अर्थमन्त्रीको जोड रहने बताइएको छ।

Tokha