३९ वर्षपछि फेरि ‘रामायण’को युग : ४ हजार करोडको फिल्ममा देखिँदैछन् नयाँ कथा र नयाँ पात्र

३९ वर्षपछि फेरि ‘रामायण’को युग : ४ हजार करोडको फिल्ममा देखिँदैछन् नयाँ कथा र नयाँ पात्र

काठमाडौं । करिब चार दशकअघि टेलिभिजनमा प्रसारण भएको रामानन्द सागरको चर्चित धारावाहिक ‘रामायण’ ले नेपाली तथा भारतीय दर्शकको मनमा गहिरो छाप छोडेको थियो। कोरोना महामारीका बेला पुनः प्रसारण हुँदा पनि यसले टीआरपीका धेरै कीर्तिमान तोड्दै यसको लोकप्रियता अझ प्रमाणित गरेको थियो।

भगवान् रामको भूमिकामा अरुण गोविल, सीताको भूमिकामा दीपिका चिखलिया, रावणको भूमिकामा अरविन्द त्रिवेदी तथा हनुमानको भूमिकामा दारा सिंहले निर्वाह गरेका पात्रहरू आज पनि दर्शकको स्मृतिमा जीवित छन्।

तर अब करिब ३९ वर्षपछि यही पौराणिक कथालाई ठूलो पर्दामा नयाँ स्वरूपमा प्रस्तुत गर्न लागिएको छ। करिब ४ हजार करोड रुपैयाँको विशाल बजेटमा निर्माण भइरहेको नमित मल्होत्राको ‘रामायण’ अहिले सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक बनेको छ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा उत्सुकता बढेको छ। किनभने नयाँ ‘रामायण’मा पुरानो कथासँगै केही नयाँ पात्र, नयाँ दृष्टिकोण र पात्रहरूको पृष्ठभूमिलाई थप विस्तार गरिएको देखिन्छ।

फिल्ममा सबैभन्दा बढी चर्चा अभिनेता रणबीर कपूरले निभाएको भगवान् रामको भूमिकाको भइरहेको छ।

अरुण गोविलले ३९ वर्षअघि रामको पात्रलाई यति प्रभावशाली बनाएका थिए कि धेरै दर्शकको मनमा आज पनि रामको छवि उनैसँग जोडिएको छ। अब दर्शकको चासो रणबीर कपूरले त्यो प्रभावलाई कसरी प्रस्तुत गर्छन् भन्नेमा केन्द्रित छ।

यद्यपि ट्रेलरकै आधारमा अभिनयको मूल्याङ्कन गर्न कठिन हुने भए पनि रणबीरले यसअघि विभिन्न फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका छन्।

नयाँ ‘रामायण’मा सीताको पात्रलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

दीपिका चिखलियाले निभाएको सीताको सरलता र मर्यादा दर्शकको मनमा विशेष स्थान बनाएको थियो। तर नयाँ फिल्ममा अभिनेत्री साई पल्लवीले निभाएको सीताको भूमिकामा केवल पत्नी र जनकनन्दिनीको पक्ष मात्र नभई संघर्षशील र साहसी पक्षसमेत देखाइएको छ।

रामानन्द सागरको ‘रामायण’मा सुनील लाहिरीले लक्ष्मणको भूमिका निकै प्रभावकारी बनाएका थिए।

अब नयाँ फिल्ममा यही भूमिका अभिनेता रवि दुबेले निभाएका छन्। दाजु रामप्रतिको समर्पण, सीताको रक्षा र योद्धाको रूपमा लक्ष्मणको चरित्रलाई नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

नयाँ ‘रामायण’को सबैभन्दा आकर्षक पक्षमध्ये एक रावणको चरित्र पनि हो।

यसअघि अधिकांश संस्करणमा रावणलाई लंकाका राजा र रामका विरोधीका रूपमा मात्र देखाइएको थियो। तर नयाँ फिल्ममा उनी कसरी शक्तिशाली बने, उनको विद्वता, सामर्थ्य र लंकाको राजा बन्नेसम्मको यात्रालाई पनि देखाउने प्रयास गरिएको छ।

रावणको भूमिकामा अभिनेता यश देखिएका छन्। ट्रेलरमा उनको आक्रामक प्रस्तुति, भावभंगिमा र प्रभावशाली उपस्थितिले दर्शकको ध्यान खिचेको छ।

रामानन्द सागरको ‘रामायण’मा दारा सिंहले हनुमानको भूमिका अमर बनाएका थिए।

नयाँ फिल्ममा यो जिम्मेवारी अभिनेता सनी देओलले सम्हालेका छन्। यद्यपि ट्रेलरमा हनुमानको पूर्ण झलक सार्वजनिक गरिएको छैन। निर्माण पक्षले यो पात्रलाई विशेष आकर्षणका रूपमा राखेको हुन सक्ने अनुमान गरिएको छ।

नयाँ ‘रामायण’मा शूर्पणखाको पात्र पनि चर्चाको विषय बनेको छ।

अभिनेत्री रकुल प्रीत सिंहले शूर्पणखाको भूमिका निभाएकी छन्। परम्परागत कथाभन्दा फरक शैलीमा उनको चरित्रलाई प्रस्तुत गर्न खोजिएको छ।

फिल्ममा शूर्पणखाको व्यक्तिगत जीवन र उनका पति विद्युतजिह्वको कथा पनि समेटिने बताइएको छ। विद्युतजिह्वको भूमिकामा विवेक ओबेरोय छन्।

भगवान् रामको भूमिकाबाट लोकप्रिय बनेका अरुण गोविल यसपटक राजा दशरथको भूमिकामा देखिनेछन्।

रामको भूमिकाबाट स्थापित उनको छवि नयाँ पात्रमा कसरी देखिन्छ भन्ने विषय पनि दर्शकका लागि चासोको विषय बनेको छ।

फिल्मका केही सहायक पात्रले पनि ट्रेलरबाटै चर्चा पाएका छन्।

मन्थराको भूमिकामा शीबा चड्ढा, भरतको भूमिकामा आदिनाथ कोठारे, विद्युतजिह्वको भूमिकामा विवेक ओबेरोय र मारीचको भूमिकामा सौरभ सचदेव रहेका छन्।

सन् १९८७ मा बनेको रामानन्द सागरको ‘रामायण’ सीमित स्रोत र प्रविधिमा निर्माण गरिएको थियो। त्यस समयको प्रविधिभन्दा फरक रूपमा नयाँ फिल्ममा अत्याधुनिक भीएफएक्स, ठूलो स्टारकास्ट र अन्तर्राष्ट्रिय स्तरका प्राविधिक टोली प्रयोग गरिएको छ।

ठूलो बजेट, अत्याधुनिक प्रविधि र चर्चित कलाकार भए पनि रामानन्द सागरको ‘रामायण’को सबैभन्दा ठूलो विशेषता यसको सरलता र दर्शकसँगको भावनात्मक सम्बन्ध थियो।

अरुण गोविलको शान्त भाव, दीपिका चिखलियाको सरलता, अरविन्द त्रिवेदीको प्रभावशाली रावण र दारा सिंहको हनुमान पात्रले जुन प्रभाव छोडेका थिए, त्यसलाई नयाँ फिल्मले दोहोर्याउन सक्छ कि सक्दैन भन्ने प्रश्न अहिले सबैभन्दा ठूलो छ।

नयाँ ‘रामायण’ सन् २०२६ को दीपावलीमा प्रदर्शन हुने तयारीमा छ। त्यसपछि मात्र थाहा हुनेछ कि ४ हजार करोडको यो भव्य निर्माणले ३९ वर्षअघिको ‘रामायण’को भावनात्मक जादूलाई पुनः सिर्जना गर्न सक्छ वा सक्दैन।

Tokha