नेपालमा मुवाँथाईको बढ्दो आकर्षण, राज्यको बेवास्ताप्रति संघको गुनासो

नेपालमा मुवाँथाईको बढ्दो आकर्षण, राज्यको बेवास्ताप्रति संघको गुनासो

काठमाडौं । नेपाली खेलकुदमा मार्सल आर्ट्स विधाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्दै आएको छ। पछिल्लो समय थाइल्याण्डबाट सुरु भएको मुवाँथाई खेल पनि नेपालमा युवामाझ लोकप्रिय बन्दै गएको छ।

विश्वप्रसिद्ध एक्सन अभिनेता टोनी जाले समेत खेल्ने गरेको मुवाँथाई नेपालमा विकासको चरणमा रहे पनि अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिसकेको छ। गुणराज रुचालले सन् २०२४ को विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु नेपाली मुवाँथाईको ठूलो उपलब्धि मानिएको छ।

नेपालमा सन् २०१० पछि मुवाँथाईले औपचारिक स्वरूप पाएको हो। नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीका अनुसार हाल देशभर करिब ५० वटा क्लबमा २ हजारभन्दा बढी खेलाडीले नियमित प्रशिक्षण गरिरहेका छन्।

मुवाँथाईले बक्सिङ, उसु, किक बक्सिङ, कराते लगायत अन्य मार्सल आर्ट्स खेलमा समेत सहयोग पुर्‍याउने भएकाले यसको आकर्षण बढेको संघको भनाइ छ। नेपाली मुवाँथाई खेलाडीहरूले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा चार पदक जितिसकेका छन्।

तर अन्तर्राष्ट्रिय सफलता हासिल गरे पनि राज्यले मुवाँथाईलाई पर्याप्त सहयोग नगरेको संघको गुनासो छ। राष्ट्रिय खेलकुद विकास ऐनअनुसार संघ दर्ता भए पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा समान अवसर नपाएको अध्यक्ष कक्षपतीले बताएका छन्।

संघले दशौं राष्ट्रिय खेलकुदमा मुवाँथाईलाई समावेश गर्न माग गर्दै आएको छ। खेलाडीहरूले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको भन्दै राज्यले लगानी र अवसर बढाउनुपर्ने संघको माग छ।

मुवाँथाईसँगै अन्य मार्सल आर्ट्स विधाले पनि अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गरे पनि पर्याप्त सरकारी सहयोग नपाएको गुनासो गर्दै आएका छन्।

Tokha