सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा यात्रुवाहक बसको ठक्करबाट एक कार सुनकोशी नदीमा खस्दा कारमा सवार चार जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे नवलपुर क्षेत्रमा सडकमा रोकिराखिएको कारलाई यात्रुवाहक बसले ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित बनेको कार सडकबाट तल खसेर सुनकोशी नदीमा पुगेको हो।
स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए। समाचार तयार पार्दासम्म कार तथा त्यसमा रहेका यात्रुहरूको अवस्था पत्ता लाग्न सकेको छैन। उद्धार टोलीले नदीमा खोजी कार्य जारी राखेको छ।
दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा रहेको र उनी मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको जनाइएको छ।
घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना नजिक पर्ने नवलपुरघाट क्षेत्रमा पर्दछ। उक्त स्थानमा सडकबाट सवारी साधन नदीमा खस्ने जोखिम रहेको स्थानीयले बताएका छन्।
घटनापछि नेपाल प्रहरी, स्थानीय उद्धार टोली तथा सम्बन्धित निकायका सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएका छन्। उनीहरूले सुनकोशी नदीमा कार र बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य गरिरहेका छन्।
सिन्धुली प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ। उद्धार कार्य पूरा भएपछि दुर्घटनाको वास्तविक कारण र क्षतिको विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।



































