ऋतिकसँग कंगनाको खुला अपिल: ‘मेरो नाममा हुने ट्रोलिङ रोक्नुस्’

ऋतिकसँग कंगनाको खुला अपिल: ‘मेरो नाममा हुने ट्रोलिङ रोक्नुस्’

काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफ्नो नाम जोडेर भइरहेको अनलाइन ट्रोलिङ रोक्न आग्रह गरेकी छन्।

कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत ऋतिकलाई सम्बोधन गर्दै सबासँगको सम्बन्धप्रति खुसी व्यक्त गरेकी हुन्। उनले दुवै राम्रो जोडी देखिएको उल्लेख गर्दै आफ्नो नाम प्रयोग गरेर सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै हुने दुव्र्यवहारको सार्वजनिक रूपमा निन्दा गर्न ऋतिकलाई आग्रह गरेकी छन्।

उनले लेखेकी छन्, “प्रिय ऋतिक, तिमीले आफ्नो सही जोडी सबा आजादलाई भेट्टाएकोमा म खुसी छु। तिमीहरू दुवै राम्रो देखिन्छौ। तिमी प्रतिबद्ध सम्बन्धमा छौ, त्यसैले कुनै महिलालाई जिस्क्याउने वा निशाना बनाउने कुरा तिमीलाई सुहाउँदैन।”

कंगनाले थप लेखेकी छन्, “मेरो नाम प्रयोग गरेर मलाई दुव्र्यवहार र बुलिङ गर्नेहरूलाई तिमीले रोक्नुपर्छ। आगोमा घिउ थप्ने काम नगर र आफ्नो पार्टनरलाई असहज बनाउने अवस्था सिर्जना नगर।”

कंगनाको यो प्रतिक्रिया ऋतिक रोशनले सामाजिक सञ्जालमा गरेको एक टिप्पणीपछि आएको हो। एक सामाजिक सञ्जाल इन्फ्लुएन्सरले “संसारले ऋतिक रोशनसँग माफी माग्नुपर्छ” भन्ने आशयको पोस्ट गरेपछि ऋतिकले त्यसमा प्रतिक्रिया दिएका थिए।

ऋतिकले लेखेका थिए, “यदि तपाईंले ‘ए’ लाई समर्थन गर्नु केवल ‘बी’ मन नपरेकै कारण गर्नुहुन्छ भने, यो हाम्रो समाजमा रहेको ठूलो समस्याको एउटा सानो हिस्सा मात्र हो। सही सन्दर्भ र तथ्यमा आधारित छलफलको प्रतीक्षा गर्नेछु। त्यो नै न्यायपूर्ण हुनेछ।”

यसैबीच, कंगना पछिल्लो समय विद्यार्थी आन्दोलनसम्बन्धी आफ्ना टिप्पणीका कारण पनि चर्चामा छिन्। उनले प्रदर्शनका भिडियोहरूलाई ‘घृणास्पद’ र ‘असहज बनाउने’ खालको भन्दै आलोचना गरेकी थिइन्। साथै, नयाँ पुस्ताको भाषा, व्यवहार र स्वतन्त्रताको अवधारणाबारे दिएका अभिव्यक्तिहरूले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाएका छन्। (एएनआई)

Tokha