काठमाडौं । बजारमा नक्कली उत्पादनको बिक्री–वितरण भइरहेको सूचना आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले त्यस्ता उत्पादनको बिक्री–वितरण तत्काल रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको जनाएको छ। ती उत्पादनको गुणस्तर र मौलिकता पुष्टि गर्न प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ।
मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले नक्कली उत्पादनको कारोबारमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पार्दै अनुगमनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएकी छन्। दोषी प्रमाणित भए कानुनबमोजिम कडा कारबाही गरिने पनि उनले बताएकी छन्।
विभागका महानिर्देशक मोति सापकोटाका अनुसार बजारमा अझै केही नक्कली उत्पादन बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भइरहेकाले नियमित अनुगमन जारी राखिएको छ। नियन्त्रणमा लिइएका उत्पादनको प्रयोगशाला परीक्षणपछि प्राप्त प्रतिवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।
विभागले उपभोक्तालाई शंकास्पद वा नक्कली उत्पादन देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। मन्त्री यादवले बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेकी छन्।



































