काठमाडौं, ८ श्रावण २०८३, /नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव मात्र लोकतन्त्रको पर्याप्त आधार नभएको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा (एमाले) द्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विश्वका विभिन्न देशमा चुनाव हुने गरे पनि लोकतान्त्रिक व्यवस्था नरहेको उदाहरण रहेको बताए।
उनले भने, “चुनावले मात्रै लोकतन्त्र हुँदैन। विभिन्न देशमा चुनाव हुने गरेका छन्, तर लोकतन्त्र छैन। चुनाव हुन्छ, लोकतन्त्र हुँदैन।”
ओलीले नेपालमा भएका पछिल्ला हिंसात्मक घटनाको चर्चा गर्दै २०८२ साल भदौ २३ र २४ गते भएको जनधनको क्षति, आगजनी र हिंसाका घटना नेपालको इतिहासमै असामान्य भएको दाबी गरे। उनले विगतका राजनीतिक संघर्षहरूमा समेत यस्ता घटना नभएको उल्लेख गरे।
माओवादी आन्दोलनतर्फ संकेत गर्दै ओलीले हिंसात्मक बाटो रोजिए पनि समाजलाई आतंकको नियन्त्रणमा राख्ने खालका गतिविधि नभएको दाबी गरे।
उनले वैधानिक सरकार र संवैधानिक व्यवस्थाविरुद्ध अवैध तथा आपराधिक गतिविधि भएको आरोप लगाउँदै प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा संविधानको व्याख्याप्रति प्रश्न उठाए।
ओलीले देश, जनता, लोकतन्त्र, संविधान र सुशासनको पक्षमा सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए। उनले दलहरू फरक–फरक भए पनि राष्ट्रिय हितका विषयमा मिलेर अघि बढ्नुपर्ने धारणा राखे।
उनले भने, “पार्टी आफ्ना–आफ्नै भए पनि हुन्छ, तर काममा चाहिँ मिलौं, सहकार्य गरौं।”
प्रदेश सरकारको अवस्थाबारे देखिएको अन्योल छिट्टै समाधान गरिने दाबी गर्दै ओलीले प्रदेश र स्थानीय सरकार स्पष्ट ढंगले सञ्चालन हुने बताए।


































