मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक, २९८ पुस्तकबाट छनोट
काठमाडौं, साउन ४ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृतिको मनोनयन सार्वजनिक गरेको छ।
गुठीले सोमबार सार्वजनिक गरेको सूचीअनुसार यस वर्ष पुरस्कारका लागि विभिन्न विधाका २९८ वटा पुस्तक आवेदनमा परेका थिए। तीमध्ये मूल्याङ्कनपछि उत्कृष्ट १० कृति छनोट गरिएको हो।
मनोनयनमा केशवराज ज्ञवालीको अज्ञान, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास, वीणा जोशी राजभण्डारीको नेपाल समुदायका परम्परागत मृत्युगीत, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वप्नस्पर्श र नदीशाको हिउँद परेका छन्।
गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार मनोनयनमा परेका यी कृतिमध्येबाट अन्तिम चरणको मूल्याङ्कनपछि यस वर्षको मदन पुरस्कार २०८२ विजेता घोषणा गरिनेछ।
नेपाली साहित्यको प्रतिष्ठित सम्मानका रूपमा परिचित मदन पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट मौलिक नेपाली कृतिलाई प्रदान गरिँदै आएको छ।



































