१ हजार २५० मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै, बाँकी मल पनि चरणबद्ध रूपमा भित्रिने

१ हजार २५० मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै, बाँकी मल पनि चरणबद्ध रूपमा भित्रिने

काठमाडौं । रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको ३० हजार मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मलमध्ये पहिलो खेपको १ हजार २५० मेट्रिक टन मल आज नेपाल आइपुग्ने भएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको उक्त डीएपी मल भारतको कोलकाता बन्दरगाहमा गत जुलाई १० मा आइपुगेको थियो। त्यसमध्ये पहिलो खेपको १ हजार २५० मेट्रिक टन मल साउन १ गते कोलकाताबाट नेपालतर्फ ढुवानी सुरु गरिएको थियो, जुन आज वीरगञ्ज नाकामार्फत नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।

हाल बाँकी डीएपी मलको प्याकेजिङ (ब्यागिङ) कार्य कोलकाता बन्दरगाहमै तीव्र गतिमा भइरहेको कम्पनीले जनाएको छ। प्याकेजिङ सम्पन्न भएसँगै अर्को एक रेल रेकमार्फत डीएपी मल वीरगञ्जका लागि पठाइएको छ भने बाँकी परिमाण पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने तयारी गरिएको छ।

यसैबीच सरकारले खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। उक्त मलको अनलोडिङ र प्याकेजिङ कार्य जारी रहेको तथा प्रक्रिया पूरा भएपछि अर्को रेल रेकमार्फत वीरगञ्जका लागि ढुवानी सुरु गरिने कृषि सामग्री कम्पनीले जनाएको छ।

धान रोपाइँ तथा बाली व्यवस्थापनको मुख्य समयमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले डीएपी र युरिया दुवै मलको आयात प्रक्रिया तीव्र बनाएको जनाएको छ। प्रदेश तथा स्थानीय गोदाममा मल पुगेपछि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत किसानलाई वितरण गरिनेछ।

सरकारले चालु कृषि मौसममा मलको अभाव हुन नदिन आवश्यक परिमाणमा रासायनिक मल समयमै आयात गरी देशभर आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

Tokha