बागमती प्रदेश : मन्त्रालय आठमा झ¥यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय आठमा झ¥यो, मन्त्री १४ नै कायम

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने भन्दै मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। तर मन्त्रीहरूको संख्या भने यथावत् १४ नै कायम राख्ने तयारी भएपछि सरकारको मितव्ययिता र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको छ।

मन्त्रालय घटेपछि केही मन्त्री तत्कालका लागि विनाविभागीय मन्त्रीका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने तयारी गरिएको स्रोतले जनाएको छ। मन्त्रालय पुनर्संरचना र जिम्मेवारी बाँडफाँटको प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम निर्णय हुने बताइएको छ।

यसअघि एमालेका ६ मन्त्रीले राजीनामा दिने तयारी गरे पनि कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएकाले राजीनामा रोकिएको जनाइएको छ। अब नयाँ संरचनाअनुसार कांग्रेसले पाँच र एमालेले तीन मन्त्रालयको नेतृत्व गर्नेछन् भने मन्त्रीहरूको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले टुंग्याउनेछन्।

सरकारका प्रवक्ता प्रभात तामाङले गठबन्धनका शीर्ष नेतृत्वबीच छलफल जारी रहेको र सहमतिमै सबै विषय टुंगिने बताएका छन्। यद्यपि मन्त्रालय घटाएर खर्च बचत गर्ने निर्णयसँगै मन्त्रालयविहीन मन्त्रीलाई पदमा कायम राख्ने तयारीले सरकारको खर्च कटौतीको दाबीमाथि प्रश्न उठाएको छ।

Tokha