काठमाडौं । नेपाल प्रहरी प्रभाग सानेपाको आयोजनामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पस, भोटाहिटीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रहरी नायब निरीक्षक (सब–इन्स्पेक्टर) कृष्ण घलानले विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, तोकिएको गति सीमाभित्र सवारी चलाउने, मदिरा सेवन गरी सवारी नचलाउने तथा सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने विषयमा विस्तृत जानकारी दिनुभएको थियो।
उहाँले सडक सुरक्षा केवल चालकको मात्र नभई पैदलयात्री, विद्यार्थी तथा सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गरे अधिकांश सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो। साथै सार्वजनिक स्थानमा यात्रा गर्दा सधैं सतर्क रहन, अपरिचित व्यक्तिप्रति सजग हुन, चोरी, लुटपाट, स्न्याचिङ तथा महिला हिंसाजस्ता घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रमका संयोजक तथा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक सपना शाहले विद्यार्थीहरू दैनिक रूपमा सडक तथा सार्वजनिक स्थानमा आवतजावत गर्ने भएकाले उनीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा तथा सम्भावित जोखिमबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले सडक दुर्घटना न्यूनीकरणसँगै सार्वजनिक यातायात तथा सडकमा यात्रा गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी, महिला तथा विद्यार्थीमाथि हुन सक्ने हिंसा, चोरी, लुटपाट तथा स्न्याचिङ (झोलातान्ने घटना) जस्ता घटनाबाट कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी गराएर विद्यार्थीहरूलाई सचेत बनाउने उद्देश्य रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रमका अवसरमा ललितकला क्याम्पसका प्रमुख डा. यामप्रसाद शर्माले उपप्राध्यापक सपना शाहद्वारा सिर्जना गरिएको चित्रकला मायाको चिनोस्वरूप प्रहरी प्रभाग सानेपाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूसँग अन्तरक्रियासमेत गरिएको थियो। सो क्रममा विद्यार्थीहरूले सडक सुरक्षा, ट्राफिक अनुशासन, व्यक्तिगत सुरक्षा तथा सार्वजनिक यातायात प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीसम्बन्धी जिज्ञासा राखेका थिए भने प्रहरी टोलीले त्यसबारे आवश्यक जानकारी र सुझाव दिएको थियो।
प्रहरी प्रभाग सानेपाले समुदाय–प्रहरी साझेदारी अभियानमार्फत विद्यालय तथा क्याम्पसस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै सुरक्षित, अनुशासित र अपराधमुक्त समाज निर्माणमा नागरिकको सहभागिता अभिवृद्धि गर्ने जनाएको छ।







































