काठमाडौं । काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले घटनाप्रति गम्भीर चासो देखाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकलाई मन्त्रालयमा बोलाएर घटनाबारे छलफल गरेकी छन्।
मन्त्रालयका अनुसार मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेट गरी घटनाबारे जानकारी लिएकी थिइन्। भेटका क्रममा उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै पढाइ र खेलकुद दुवै क्षेत्रमा आत्मविश्वासका साथ अघि बढ्न प्रोत्साहित गरेकी थिइन्।
छलफलका क्रममा मन्त्री पोखरेलले घटनामा आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले यस्ता घटनाले बालबालिकामा दीर्घकालीन मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले विद्यार्थीको मानसिक अवस्थाप्रति विशेष संवेदनशील हुन विद्यालयलाई निर्देशन दिइन्।
मन्त्रीले घटनामा संलग्न शिक्षिकालाई आवश्यक परामर्श, सचेतना तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन पनि विद्यालयलाई सुझाव दिएकी छन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षकहरूको व्यवहार व्यवस्थापन, बालमैत्री शिक्षण पद्धति र विद्यार्थी अधिकार सम्बन्धी तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।
शिक्षा मन्त्रालयका अनुसार घटना करिब एक वर्षअघि भएको भए पनि भिडियो अहिले सार्वजनिक भएपछि त्यसलाई गम्भीर रूपमा लिँदै विद्यालय र पीडित पक्षसँग छलफल गरी आवश्यक पहल गरिएको हो।
भाइरल भएको भिडियोमा विसं २०८२ साल पुस महिनामा कक्षा ४ मा अध्ययनरत बाग्लुङ घर भएका १३ वर्षीय विद्यार्थीलाई विद्यालयकी शिक्षिका सोना रानाले कुटपिट गरेको देखिन्छ।
यसबीच, शिक्षिका रानाले आफ्नो व्यवहारप्रति सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक सुनिल रानाका अनुसार घटनाको छानबिनपछि शिक्षिका सोनालाई गत जेठ महिनामै विद्यालयबाट निष्कासन गरिएको थियो। उनले विद्यालयले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक प्रशासनिक कारबाही गरिसकेको बताए।
प्रधानाध्यापक रानाका अनुसार अहिले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो विद्यालयकै एक शिक्षकले खिचेका थिए। ती शिक्षकलाई भने अध्यापन कार्य सन्तोषजनक नभएको भन्दै अघिल्लो वर्ष वैशाखमै विद्यालयबाट हटाइएको थियो।
विद्यालय प्रशासनले ती शिक्षकले आफ्नो निष्कासनप्रतिको असन्तुष्टिका कारण पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक गरेको दाबी गरेको छ। यद्यपि, भिडियो सार्वजनिक हुनुको कारण जे भए पनि विद्यार्थीमाथि भएको कुटपिटलाई स्वीकार गर्न नसकिने भन्दै विद्यालयले घटनाप्रति दुःख व्यक्त गरेको छ।
मन्त्रालयले विद्यालयहरूलाई बालअधिकार र बालमैत्री शिक्षण वातावरणप्रति थप जिम्मेवार बन्न आग्रह गर्दै यस्ता घटना दोहोरिन नदिन आवश्यक अनुगमन र सहजीकरणलाई निरन्तरता दिने जनाएको छ।



































