“सुस्ता विवादबारे सरकारसँग जवाफ माग्दै तामाङ : ‘आवश्यक परे सीमामा काँडेतारबार लगाऔँ

“सुस्ता विवादबारे सरकारसँग जवाफ माग्दै तामाङ : ‘आवश्यक परे सीमामा काँडेतारबार लगाऔँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ ले नेपालको सीमा सुरक्षा र सीमा विवादका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो अवस्थाबारे संसदलाई स्पष्ट जानकारी गराउन माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ताको समस्या नयाँ नभई वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेको विषय भएको बताइन्। गण्डकी नदीले धार परिवर्तन गर्दै जाँदा सुस्ता क्षेत्रमा नेपालको उल्लेख्य भूभाग विवादित बनेको उल्लेख गर्दै उनले सीमा सुरक्षाको विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्।

तामाङले पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीय बासिन्दालाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै घटनाको वास्तविकता के हो भन्ने विषयमा सरकारसँग जवाफ माग गरिन्। साथै, सरकारले हालसम्म चालेका कदम र आगामी रणनीतिबारे संसदलाई जानकारी गराउनुपर्ने आवश्यकता औंल्याइन्।

उनले लिपुलेक, कालापानीलिम्पियाधुरा जस्ता क्षेत्र नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका संवेदनशील विषय भएको बताइन्। सीमा समस्या ती क्षेत्रहरूमा मात्र सीमित नरहेको उल्लेख गर्दै अन्य सीमावर्ती क्षेत्रमा पनि विभिन्न प्रकारका विवाद र चुनौती विद्यमान रहेको उनको भनाइ थियो।

“कुनै पनि राष्ट्रको सार्वभौमिकताको आधार आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता हो,” उनले भनिन्, “यदि राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्न सक्छ।”

सांसद तामाङले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गर्न, आवश्यक कूटनीतिक पहलमार्फत समाधान खोज्न तथा सीमावर्ती क्षेत्रको सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिन्। आवश्यक परे नेपाल र भारतबीचको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने विषयमा समेत विचार गर्नुपर्ने उनको सुझाव थियो।

“सरकारले सीमा सम्बन्धी सबै विषयको निष्पक्ष छानबिन गरी आवश्यक कूटनीतिक पहलसहित अघि बढोस्,” उनले भनिन्, “आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने व्यवस्था पनि गरिनुपर्छ।”

Tokha