काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरकारी अस्पतालमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले महाराजगञ्जस्थित शिक्षण अस्पताललाई १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ।
महानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामार्फत खरिद गरिएका १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका उपकरण अस्पताललाई प्रदान गरेको हो। हस्तान्तरण गरिएका उपकरणहरूमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट बिरामी आफैँले प्रिन्ट गर्न सक्ने तथा उपचारका लागि घरबाटै रकम जम्मा गर्न सकिने सुविधा भएका १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन रहेका छन्।
यसैगरी, रिपोर्ट, परीक्षण तथा उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि अस्पताललाई उपलब्ध गराइएको छ। सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन अस्पतालको सर्भर तथा र्याम क्षमतासमेत विस्तार गरिएको महानगरपालिकाले जनाएको छ।
उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सरकारी अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न महानगरले सहयोग गरेको बताउनुभयो।
“सरकारी अस्पतालमा उपचार गराउन जाँदा घण्टौँ लाइनमा बस्नुपर्ने, शुल्क तिर्न लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने उद्देश्यले हामीले यो सहयोग गरेका हौँ,” उहाँले भन्नुभयो।
कार्यवाहक प्रमुख डंगोलले बिरामी र उनीहरूका आफन्तहरू उपचारकै क्रममा विभिन्न पीडाबाट गुज्रिरहेको अवस्थामा प्रशासनिक प्रक्रियाले थप सास्ती नदिओस् भन्ने उद्देश्यले प्रविधिमार्फत सेवा सुधारमा जोड दिइएको उल्लेख गर्नुभयो।
“बिरामी र बिरामीका आफन्तलाई त्यत्तिकै पनि पीडा भइरहेको हुन्छ। उपचार गराउने क्रममा थप झन्झट र सकस नहोस्, पैसा तिर्न र ओपीडी टिकट काट्न घण्टौँ लाइनमा बस्न नपरोस् भन्ने हाम्रो चाहना हो। प्रविधिको प्रयोगबाट यो सम्भव भएकाले महानगरले आवश्यक सहयोग गरेको हो,” उहाँले बताउनुभयो।
महानगरपालिकाले उपलब्ध गराएको आधुनिक प्रविधि र उपकरणको प्रयोगबाट शिक्षण अस्पतालको ओपीडी सेवा थप व्यवस्थित, छिटोछरितो र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ।





























