भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए रास्वपा सभापति रवि लामिछाने

भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए रास्वपा सभापति रवि लामिछाने

काठमाडौं, जेठ २२ । रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल पाँचदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री लामिछाने भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन को निमन्त्रणामा जेठ १८ गते भारत प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले भारतका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो।

स्वदेश फर्किने क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल मा नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भाजपाका विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवालेले उहाँलाई बिदाइ गर्नुभएको थियो।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्थ्यो।

रास्वपाले भ्रमणलाई नेपाल र भारतबीचको राजनीतिक संवाद, आपसी समझदारी तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

Tokha