काठमाडौं । सरकारले सहकारी क्षेत्रमा भएको बेथितिबारे अध्ययन गर्न गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले सहकारी बेथिति सम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको बताएका हुन् ।
त्यस्तै, सरकारले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा मुकेश डंगोल लाई नियुक्त गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।






























