काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटा ले मन्त्रालयको बेरुजु विवरण प्रस्तुत गर्दै हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्यौट गरिएको जानकारी दिए ।
उनका अनुसार फछ्र्यौटपछि बेरुजु रकम घटेर २२ अर्ब ७० करोड रुपैयाँमा झर्नेछ । साथै, थप १३ प्रतिशतभन्दा बढी बेरुजुको परीक्षण तयारी भइरहेको र उक्त प्रक्रिया पूरा भएपछि कुल १८ देखि १९ प्रतिशतसम्म बेरुजु फछ्र्यौट हुने अपेक्षा गरिएको छ ।
सचिव देवकोटाले चालु आर्थिक वर्षभित्र ६० प्रतिशत बेरुजु घटाउने लक्ष्य लिइएको बताए । उनले विगतका वर्षहरूमा भने ५० प्रतिशतभन्दा कम मात्र बेरुजु फछ्र्यौट हुने गरेको उल्लेख गरे ।
उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य स्वच्छतासँग सम्बन्धित बेरुजुको विवरण अझै पूर्ण रूपमा स्पष्ट नभएको पनि बताए ।






























