बुढानीलकण्ठ नगरपालिकाभित्र निर्माणाधीन तथा सम्पन्न विभिन्न पूर्वाधार योजनाको स्थलगत अनुगमन

बुढानीलकण्ठ नगरपालिकाभित्र निर्माणाधीन तथा सम्पन्न विभिन्न पूर्वाधार योजनाको स्थलगत अनुगमन

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाकी नगर उपप्रमुख तथा अनुगमन समितिकी संयोजक अनिता लामाले बुढानीलकण्ठ नगरपालिकाभित्र निर्माणाधीन तथा सम्पन्न विभिन्न पूर्वाधार योजनाको स्थलगत अनुगमन गरेकी छन् ।

आर्थिक वर्ष २०८२ अन्तर्गत सञ्चालन भएका विकास निर्माण योजनाको प्रगति, गुणस्तर तथा कार्यसम्पादन अवस्थाबारे जानकारी लिन उपप्रमुख लामाको संयोजकत्वमा नगर प्राविधिक टोलीसहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा वडा नं. ५ स्थित अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ (इस्कोन) मन्दिर परिसरमा निर्माण भइरहेको सभा तथा सत्सङ्ग हलको निरीक्षण गरिएको थियो । करिब ९४ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त भवनमा ग्रीन टाइल बिछ्याउने, झ्याल–ढोका जडान गर्ने तथा जमिन सम्याएर जाली भर्ने काम सम्पन्न भइसकेको जनाइएको छ ।

त्यसैगरी वडा नं. १ मा निर्माण गरिएको नाईदोल टोल पार्कको पनि अनुगमन गरिएको छ । करिब २२ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त पार्क स्थानीय बासिन्दाका लागि सार्वजनिक मनोरञ्जन तथा विश्रामस्थलका रूपमा विकास गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै वडा नं. १ का मन्दिर क्षेत्रका संरचना, वडा नं. १३ अन्तर्गत नौलिन टोल भित्री बाटो निर्माण, गाम्चास्थित वाल निर्माण तथा सापटार–नायबुँ सडक निर्माण एवं स्तरोन्नति कार्यको समेत टोलीले निरीक्षण गरेको छ । अनुगमनपछि उपप्रमुख अनिता लामाले नगरपालिकाले सञ्चालन गरेका अधिकांश योजनाहरू समयमै सम्पन्न भइरहेको बताउँदै विकास निर्माणका कामलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नियमित अनुगमनलाई प्राथमिकता दिइएको बताइन् ।

उनले आर्थिक वर्ष २०८२ का निर्धारित योजनाहरू सम्पन्न हुँदै गएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा थप पूर्वाधार विकास, सडक स्तरोन्नति, सार्वजनिक संरचना निर्माण तथा नागरिकमैत्री योजनाका लागि आवश्यक बजेट विनियोजन गरिने जानकारी दिइन् ।

नगरपालिकाले विकास निर्माण योजनामा पारदर्शिता, गुणस्तर र दिगोपन सुनिश्चित गर्न जनप्रतिनिधि तथा प्राविधिक टोलीमार्फत निरन्तर अनुगमन गर्दै आएको छ । साथै, नियमित आयोजना अनुगमन हरेक मंगलबार र शुक्रबार गरिँदै आएको नगरपालिकाले जनाएको छ ।

Tokha