अब विश्वविद्यालयका उपकुलपति ‘भागबन्डा’ होइन, प्रतिस्पर्धाबाट चयन हुने

अब विश्वविद्यालयका उपकुलपति ‘भागबन्डा’ होइन, प्रतिस्पर्धाबाट चयन हुने

काठमाडौं, २५ वैशाख। सरकारले देशका आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू गर्दै खुला आवेदन आह्वान गरेको छ । अब उपकुलपति नियुक्ति राजनीतिक पहुँचभन्दा पनि योग्यता, अनुसन्धान अनुभव र प्रस्तुतीकरणका आधारमा हुने व्यवस्था गरिएको छ ।

सरकारले लागू गरेको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार नियुक्ति प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाइने भएको हो ।

कार्यविधिअनुसार प्रधानमन्त्रीद्वारा गठित सिफारिस समितिले आवश्यक परे विज्ञहरूको उपसमिति गठन गर्नेछ । उक्त समितिले उम्मेदवारको शैक्षिक योग्यता, अनुसन्धान, रणनीतिक दृष्टिपत्र र कार्ययोजनाको मूल्याङ्कन गर्नेछ । त्यसपछि उच्च अंक प्राप्त गर्ने १० जनाको नाम सार्वजनिक सर्टलिस्टमा राखिनेछ ।

सर्टलिस्टमा परेका उम्मेदवारबारे शिक्षाविद् र सरोकारवालाबाट सुझावसमेत संकलन गरिने व्यवस्था गरिएको छ । अन्तिम छनोट भने प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत हुनेछ ।

नयाँ कार्यविधिले स्वार्थको द्वन्द्व रोक्न पनि विशेष व्यवस्था गरेको छ । सिफारिस समिति वा विज्ञ उपसमितिका सदस्यका नजिकका नातेदार उम्मेदवार भएमा अर्को विज्ञ तोकिने प्रावधान राखिएको छ ।

उपकुलपति बन्न विद्यावारिधि अनिवार्य गरिएको छ भने कम्तीमा १० वर्षको अनुसन्धान तथा प्राज्ञिक अनुभव हुनुपर्नेछ । साथै उम्मेदवारले कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणासमेत पेश गर्नुपर्नेछ ।

विश्वविद्यालय सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार र शैक्षिक गुणस्तर वृद्धिसम्बन्धी स्पष्ट योजना प्रस्तुत गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । मूल्याङ्कन १०० पूर्णाङ्कमा आधारित हुनेछ, जसमा अनुसन्धान, पुस्तक प्रकाशन, प्रशासनिक अनुभव, प्रस्तुतीकरण र अन्तर्वार्तालाई आधार बनाइनेछ ।

भ्रष्टाचार वा आचरणसम्बन्धी अभियोग लागेका व्यक्तिलाई अयोग्य मानिने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ । आवश्यक परे उजुरीका आधारमा छानबिन गरी आवेदन अस्वीकार गर्न सकिने प्रावधान राखिएको छ ।

नेपालका विश्वविद्यालयहरूमा लामो समयदेखि राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने आलोचना भइरहेका बेला सरकारले नयाँ कार्यविधिमार्फत पारदर्शी र विशेषज्ञ आधारित प्रणाली संस्थागत गर्ने प्रयास गरेको जनाएको छ ।

Tokha