रास्वपा सांसदको वेदनाः न्याय मात्र होइन, न्याय भएको अनुभूति पनि हुनुपर्छ

रास्वपा सांसदको वेदनाः न्याय मात्र होइन, न्याय भएको अनुभूति पनि हुनुपर्छ

काठमाडौं — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनाल ले बस्ती व्यवस्थापनका क्रममा देखिएको मानवीय पीडाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बालबालिकाको पढाइ अवरुद्ध हुनु, नागरिकको स्वास्थ्य जोखिममा पर्नु र परिवारहरूले भोग्नुपरेको मानसिक तनावले आफू स्तब्ध भएको उनले बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राज्यको हरेक निर्णयमा नागरिकको आत्मसम्मान र जीवन सर्वोपरि हुनुपर्ने उल्लेख गरेका छन्। ‘हामी आज जुन जिम्मेवारीमा छौं, त्यो नागरिकको अटुट विश्वासकै परिणाम हो,’ उनले लेखेका छन्।

सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा देखिएको पछिल्लो घटनाले आफूलाई गहिरो रूपमा छोएको बताउँदै उनले विस्थापन होइन, सुरक्षित व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

खनालले सरकारलाई अझ संवेदनशील बन्न आग्रह गर्दै बालबालिकाको शिक्षा, नागरिकको स्वास्थ्य र परिवारको मनोवैज्ञानिक अवस्थालाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने बताएका छन्। ‘न्याय गर्नु मात्र पर्याप्त हुँदैन, न्याय भएको अनुभूति पनि नागरिकले पाउनुपर्छ,’ उनले भने।

उनले सरकारको प्रयासबाट कुनै पनि नागरिक पीडित नहोस् र सबैको आत्मसम्मान सुरक्षित रहोस् भन्नेमा आफू सचेत रहेको जनाउँदै आगामी दिनमा यस विषयमा अझ ध्यान दिइने विश्वास व्यक्त गरेका छन्।

Tokha