काठमाडौं — नागार्जुन नगरपालिकाले आधारभूत सीप विकास तालिममा सहभागी हुनका लागि आवेदन दिने समय थप गरेको छ। नगर कार्यपालिकाको कार्यालय, हरिसिद्धि–सीतापाइला, काठमाडौंले एक सूचना जारी गर्दै यसअघि प्रकाशित सूचना अनुसार आवेदन दिन नसकेकाहरूका लागि थप समय प्रदान गरिएको जनाएको हो। आवेदन दिने अन्तिम मिति २०८३ बैशाख १८ गते तोकिएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनभीटीआई), ललितपुरसँगको सहकार्यमा निःशुल्क रूपमा तालिम सञ्चालन गर्न लागेको हो। तालिम ३५० घण्टाको हुनेछ। यसअन्तर्गत मोन्टेसरी, वेटर/वेट्रेस र हाउस किपिङ (हाउस किपिङ/बिस्तार) सम्बन्धी तालिम सञ्चालन गरिनेछ। प्रत्येक तालिममा २० जना सहभागी रहने व्यवस्था गरिएको छ।
सूचनाअनुसार अन्तरवार्ता तथा तालिम सुरु हुने मिति २०८३ वैशाख २१ गते बिहान ११ बजे तोकिएको छ। इच्छुक व्यक्तिहरूले अनलाइन माध्यमबाट क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् भने आवेदन फाराम नगरपालिकाको कार्यालय तथा वडा कार्यालयबाट पनि प्राप्त गर्न सकिनेछ।
तालिममा सहभागी हुन नेपाली नागरिकताको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यता (वेटर/वेट्रेस र हाउस किपिङका लागि कक्षा ८ तथा मोन्टेसरीका लागि कक्षा १२ उत्तीर्ण), उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। नगरपालिकाले तोकिएको मितिभित्र आवेदन दिन सबै इच्छुकलाई अनुरोध गरेको छ। साथै, एकभन्दा बढी विषयमा आवेदन दिन सकिने भए पनि अन्तर्वार्तामार्फत एक विषयमा मात्र छनोट गरिने जनाइएको छ।




































