अटिजम भएका बालबालिकाका लागि बुढानीलकण्ठमा विशेष भवन निर्माण सुरु

अटिजम भएका बालबालिकाका लागि बुढानीलकण्ठमा विशेष भवन निर्माण सुरु

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–६ स्थित पाडेसिममा अटिजम भएका बालबालिका तथा व्यक्तिहरूलाई लक्षित गर्दै निर्माण हुन लागेको अटिजम भवनको शिलान्यास गरिएको छ । नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाद्वारा संयुक्त रूपमा गत शनिवार भवनको शिलान्यास गरिएको हो । कार्यक्रममा नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य तथा नगर प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, कर्मचारी, स्थानीय बासिन्दा, समाजसेवी तथा सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले अटिजम भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, क्षमता विकास तथा सामाजिक समावेशितालाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न योजना अघि बढाइरहेको बताए ।

उनले निर्माण हुन लागेको भवनले अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकलाई आवश्यक सेवा, परामर्श र सहजीकरण प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यसैगरी उपप्रमुख अनिता लामाले विशेष आवश्यकता भएका व्यक्तिहरूका लागि सुरक्षित, सहज र सहयोगी वातावरण निर्माण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै नगरपालिकाले समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । उनले अटिजमसम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा परिवारलाई सहयोग पु¥याउन यस्ता पूर्वाधार आवश्यक रहेको धारणा राखिन् ।

वडाध्यक्ष रवि खड्का

अटिजम भवन निर्माणबारे जानकारी दिदै वडाध्यक्ष रवि खड्काले बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ६ मा अटिजम भएका बालबालिकाको व्यवस्थापनाका लागि नयाँ कदम चालिएको बताए । भवनमा अटिजम स्कुल, अस्पताल, तालिम केन्द्र तथा अभिभावकका लागि विश्रामस्थलमेत निर्माण गरिने बताए । उक्त भवन २०८३ को फागुन महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

स्थानीयवासीहरूले अटिजम भएका बालबालिकाका लागि नगरपालिकाले सुरु गरेको पहलप्रति खुुसी व्यक्त गर्दै भवन निर्माणले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए । नगरपालिकाका अनुसार निर्माण हुन लागेको उक्त भवनमा विशेष शिक्षा, परामर्श सेवा, थेरापी तथा विभिन्न सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। भवन निर्माण सम्पन्न भएपछि अटिजम भएका व्यक्तिहरूलाई आवश्यक सेवा स्थानीय स्तरमै उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।

Tokha