जलवायु–अनुकूल पूर्वाधारका लागि मन्त्री डा. देवकोटाको नयाँ पहल

जलवायु–अनुकूल पूर्वाधारका लागि मन्त्री डा. देवकोटाको नयाँ पहल

‘बजेटभन्दा कार्यशैली महत्वपूर्ण’ : डा. देवकोटा

-जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित पूर्वाधार नीति ल्याउने तयारी
-दिगो पूर्वाधार विकासका लागि बागमती सरकारको नयाँ रणनीति

काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले जलवायु परिवर्तनका बढ्दो असरलाई मध्यनजर गर्दै पूर्वाधार विकासलाई दिगो र उत्थानशील बनाउन पहलकदमी लिएका छन् ।

आइतबार काठमाडौंमा “जलवायु–अनुकूल (लचकदार) पूर्वाधार मार्गदर्शनः औचित्य, रूपरेखा र घटकहरू” विषयमा छलफल गर्दै मन्त्री देवकोटाले नयाँ नीति बनाउन पहल गरेका हुन् ।

कार्यक्रममा जलवायु–अनुकूल पूर्वाधार निर्माणका लागि आवश्यक औचित्य, कार्यान्वयन ढाँचा र प्रमुख घटकबारे विस्तृत जानकारी दिइएको थियो । प्रस्तुतिमा पूर्वाधार योजना र निर्माण गर्दा जलवायु जोखिमलाई पूर्वानुमान गरी त्यसअनुसार डिजाइन र कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो ।

मन्त्री देवकोटाले सीमित स्रोत साधनबाट कसरी काम गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल गरेका हुन् । बजेटभन्दा पनि विज्ञता र काम गर्ने तरिकामा ध्यान दिनुपर्ने उनको भनाइ छ । लक्ष्य प्राप्तिमा योगदान दिने तर विवादमा नपर्ने गरी काम गर्नुपर्ने देवकोटाले बताए ।

विगतमा सुरु भएका कामलाई बाधा नपुर्याओस, भविष्यमा मार्गदर्शन बन्न सकोस भन्ने मान्यतामा रहेका योजना बनाउनुपर्नेमा देवकोटाले जोड दिए । जति अध्ययन गर्न सकिन्छ त्यति मात्र योजना बनाउने तर असम्भव विषय समावेश नगर्ने नीति देवकोटाले लिएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी विगतमा धेरै आयोजना बनाए पनि प्रभावकारी बन्न नसकेको भन्दै उनले अहिले अवस्था बदलिएको बताए ।

कार्यक्रममा सहभागी विज्ञहरूले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अतिवृष्टि तथा तापक्रम वृद्धिजस्ता जोखिम बढ्दै गएकाले अबका पूर्वाधारहरू परम्परागत ढाँचामा मात्र नभई जोखिम न्यूनीकरणमुखी हुनुपर्ने बताएका थिए ।

उनीहरूले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म पूर्वाधार विकास नीतिमा जलवायु संवेदनशीलता समेट्नुपर्ने आवश्यकता औँल्याए । साथै, दिगो विकास लक्ष्य हासिल गर्न र दीर्घकालीन क्षति न्यूनीकरणका लागि यस्ता मार्गदर्शन प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरिएको छ ।

 

Tokha