काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा दोस्रो “बुढानीलकण्ठ नगर शिल्ड–२०८२” शुक्रबारदेखि सुरु भएको छ । कपन बहुउद्देश्यीय खेल मैदानमा सुरु भएको उक्त खेलकुद महोत्सव वैशाख १३ गतेसम्म सञ्चालन हुने भएको छ ।
कार्यक्रमको उद्घाटन नगर उपप्रमुख अनिता लामाले आकाशमा बेलुन उडाएर गरेकी थिइन् । उद्घाटन समारोहमा नगर प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, जनप्रतिनिधि, खेलकुद विकास बोर्डका पदाधिकारी, नगरपालिकाका कर्मचारी, स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, खेलप्रेमी युवा–युवती, बालबालिका, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
खेलकुद उत्सवको प्रारम्भिक चरणमा इरावान जिमद्वारा मुवाइ थाई प्रदर्शन तथा नेपाल टाइगर्सद्वारा तेक्वान्दो प्रदर्शन गरिएको थियो । उद्घाटन दिनको खेलमा फुटबलतर्फ प्रतिस्पर्धात्मक खेलमा वडा नं. ४ ले वडा नं. ८ लाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
कार्यक्रममा बास्केटबल, ब्याडमिन्टन, फुटबल लगायत विविध खेल समावेश गरिएका छन् ।
































