थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्न हतार, डोजर चल्ने तयारी—६ जना पक्राउ

थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्न हतार, डोजर चल्ने तयारी—६ जना पक्राउ

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने कार्य अन्तिम तयारीमा पुगेको छ। प्रशासनले बिहानैदेखि डोजर परिचालन गर्ने योजना बनाएको भए पनि स्थानीयवासीले आफ्ना सामान सारिरहेका कारण केही समय प्रक्रिया रोकिएको छ। महानगर प्रहरीका अनुसार बिहान सवा ८ बजापछि डोजर सञ्चालन गर्ने तयारी छ।

काठमाडौँ महानगरपालिका अन्तर्गतको नगर प्रहरीका अनुसार पहिलो चरणमा थापाथली र त्यसपछि गैरीगाउँका बस्ती हटाइनेछन्। सो क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

बस्ती हटाउने क्रममा अवरोध हुन सक्ने आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। राजकुमार लामा र अर्जुन कुँवरलाई गएराति नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्। यसअघि संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चासँग सम्बन्धित अन्य चार जना पनि पक्राउ परिसकेका छन्। यससँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

सरकारले आजदेखि थापाथली, गैरीगाउँ र मनोहरा फाँट क्षेत्रमा रहेका नदी किनारका अनधिकृत बस्ती हटाउने अभियान सुरु गरेको हो। प्रशासनले यसअघि नै सूचना जारी गर्दै स्थानीयलाई घरटहरा खाली गर्न तथा आफ्ना सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो।

बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका संरचना हटाउन प्रहरी परिचालन गरिएपछि त्यहाँ बसोबास गर्दै आएका सुकुमबासीहरू हताश देखिएका छन्। बिहानैदेखि डोजर चल्ने तयारीबारे जानकारी पाएपछि उनीहरूले बाँकी रहेका सामग्री हटाउन तीव्रता दिएका छन्।

यसैबीच, महानगरकी उपमेयर तथा कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक, सरकारी र सामुदायिक जग्गाको संरक्षणका लागि केन्द्र सरकारसँग सहकार्य गर्दै अनधिकृत संरचना हटाइने स्पष्ट पारेकी छन्। उनले प्रक्रियामा मानवअधिकारको न्यूनतम मूल्य मान्यता पालना गरिने र ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने बताएकी छन्।

त्यसैगरी, प्रधानमन्त्री बालेन शाहले वर्षौँदेखि समाधान हुन नसकेको सुकुमबासी समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। उनले वास्तविक सुकुमबासीलाई आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा उपलब्ध गराइने उल्लेख गर्दै नदी किनारमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु आवश्यक रहेको बताएका छन्।

सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्तीहरूलाई मानवीय दृष्टिकोण अपनाउँदै, सकेसम्म बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गर्ने जनाएको छ।

Tokha