हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना तथा विज्ञापन निजी मिडियालाई दिने स्पष्ट पारेका छन्। पत्रकार महासंघको ज्ञापनपत्रपछि उनले प्रधानमन्त्रीसँग समेत छलफल गरेर निजी क्षेत्रलाई रोक्न नहुने धारणा राखेको बताए।
‘लोकतन्त्रको मर्मअनुसार, भावनाअनुसार निजीक्षेत्रलाई सँगै लिएर जानु पर्ने कुरा प्रधानमन्त्रीलाई सम्झाएँ,’ बानियाँले भने, ‘मिडिया हाउसलाई, कानूनबमोजिम दर्ता गर्न पाउने, विज्ञापन दिन्न पाइन्नँ भन्न हुन्न, सायद केन्द्र सरकारले पनि पाउँदैन होला भनेँ ।’ ‘यो त केन्द्र सरकारको पनि ब्लन्डर हो, यसले एकातिर निजीक्षेत्रका मिडियासँग अर्कोतिर हामीलाई परिपत्र गर्दा संघ सरकार र प्रदेश सरकारमा द्वन्द्व बढ्छ, पाएको अधिकारबारे जानकार भएका छौँ,’ बानियाँले भने, ‘यसपछि प्रधानमन्त्रीले सरकारी टेन्डरबाहेक अरु होइन भन्ने प्रष्ट पार्नु भएको छ ।’
प्रदेश सरकारका सबै मन्त्रालयलाई समेत यसबारे निर्देशन दिइसकेको भन्दै उनले ‘रोकावट भए राम्रो हुँदैन’ चेतावनी दिएका छन्।































