कम्युनिष्ट आन्दोलन खडेरीको दुबोजस्तै फेरि मौलाउने : प्रदीप ज्ञवाली

कम्युनिष्ट आन्दोलन खडेरीको दुबोजस्तै फेरि मौलाउने : प्रदीप ज्ञवाली

काठमाडौं  २०८३ वैशाख ९। प्रदीप ज्ञवाली ले कम्युनिष्ट आन्दोलन खडेरीको दुबोजस्तै फेरि मौलाउने दाबी गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी को स्थापनाको ७७औँ वर्षगाँठका अवसरमा ज्ञवालीले स्थापना कालदेखि नै विभिन्न धक्का, विभाजन र विरोध सामना गरे पनि आन्दोलन दुबोजस्तै हरेक खडेरी र दमन चिर्दै पुनः मौलाउँदै आएको उल्लेख गरेका हुन्।

उनले विगत वर्ष कम्युनिष्ट आन्दोलनका लागि सुखद नरहेको बताउँदै उक्त असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको टिप्पणी गरे।

‘विचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फ्रान्सिस फुकुयामा अहिले आफ्ना भविष्यवाणीप्रति पछुताउँदैछन्। हाम्रा “फुकुयामाहरू”का भविष्यवाणी पनि व्यर्थ सावित हुनेछन्,’ ज्ञवालीले लेखेका छन्।

उनले कम्युनिष्ट आन्दोलनको स्थापना, अस्तित्व र भविष्य कुनै व्यक्तिको इच्छाबाट नभई समाजको ऐतिहासिक विकासक्रम, वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्यकताबाट निर्देशित हुने बताए।

ज्ञवालीले वर्तमान धक्का र चुनौतीलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै यसले निर्मम आत्मसमिक्षा, संरचनागत पुनर्संरचना तथा नयाँ गतिशीलतालाई बुझ्ने क्षमता आवश्यक रहेको उल्लेख गरे।

‘वर्तमानका धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट हामीलाई छैन। यसले हामीबाट आत्मसमिक्षा, पुनर्संरचना र नयाँ ऊर्जाको माग गरिरहेको छ,’ उनले भने।

७७औँ स्थापना दिवसको सन्दर्भमा उनले आन्दोलनलाई नयाँ जीवन दिन सामूहिक संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।

Tokha