काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २७ ले वडामा जन्मिएर विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ३२ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ ।
नेपाल व्यायाम मन्दिरमा आयोजित कार्यक्रममा स्वास्थ्य, शिक्षा, सामाजिक विकास, गायन, वादन तथा खेलकुद क्षेत्रमा योगदान दिने १९ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो । साथै, ५ जना सामाजिक व्यक्तित्व र ८ जना पूर्व वडाध्यक्षलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।
उनीहरूलाई महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर तथा वडाध्यक्ष योगेशकुमार खड्गीले माला, दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।
मरणोपरान्त सम्मानित हुने पूर्व वडाध्यक्षहरूमा साधना प्रधान, भुवनलाल प्रधान, गोपालदास मानन्धर, हरिनारायण महर्जन, हरिबहादुर श्रेष्ठ, सागर मिश्र, अमरवीरसिंह तुलाधर र कृष्णनारायण श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले समाजको सन्तुलित विकासका लागि वडाले गरेको कामको प्रशंसा गरिन् । “स्वास्थ्य, शिक्षा, खेलकुद, संस्कृति तथा सम्पदा संरक्षण, सहरी विकास र व्यवस्थापनका सबै आयाममा वडाको समान दृष्टि छ, जुन अनुकरणीय छ,” उनले भनिन् ।
उनले वडास्तरमै बसेर योजना निर्माण र सेवा प्रवाह गर्ने जनप्रतिनिधि तथा कर्मचारीको कार्यशैली प्रशंसनीय रहेको पनि उल्लेख गरिन् ।
वडाध्यक्ष योगेशकुमार खड्गीले कर्मका क्रममा विभिन्न क्षेत्रमा पुगेका भए पनि वडामा जन्मिएका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको बताए । “आपसी सद्भाव र सहरी सेवासुविधामा समान पहुँच सुनिश्चित गर्न हामी निरन्तर काम गरिरहेका छौँ,” उनले भने ।
वडा सदस्य सृष्टि कंसाकारले अग्रजलाई गरिएको सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरिन् । “वडामा हुर्किएका अग्रजहरूको संघर्ष र योगदान आगामी पुस्ताका लागि अनुकरणीय छ,” उनले भनिन् ।
वडाले यस्तो सम्मान कार्यक्रम २०७९ सालदेखि सुरु गरेको हो । पहिलो वर्ष १५ जना, दोस्रो वर्ष १४ जना र तेस्रो वर्ष २० जनालाई सम्मान गरिएको थियो ।
































