काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नयाँ वर्ष २०८३ को अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । बुढानीलकण्ठ–बाघद्धार मेला (बाघद्धारा पदयात्रा) को नाममा गरिएको पदयात्रामा नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको सहभागिता रहेको थियो ।
ऐतिहासिक बागद्वार मेलालाई लक्षित गर्दै बुढानीलकण्ठदेखि नागी गुम्बा हुँदै बागद्वार सम्मको पदयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
यात्राका क्रममा प्रमुख अधिकारीले बाघद्धार जाने बाटोअन्तरगत विभिन्न स्थानमा शौचालय र दृश्यावलोकनका लागि टावर निर्माण बनाउने लक्ष्य रहेको जानकारी दिए । आहा बुढानीलकण्ठ बनाउका लागि गरिएका धेरै कामहरुमध्ये पदयात्रा पनि एक भएको अधिकारीको भनाइ छ । सबै मिलेर गरेको कामको नतिजास्वरुप विभिन्न अवार्ड र पुरस्कार प्राप्त गर्न सफल भएको स्मरण गर्दै अधिकारीले अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

अधिकारीले नयाँ वर्षको अवसरमा नगरवासीलाई एकताबद्ध गर्दै प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमअन्तर्गत पदयात्रीहरूलाई सहज बनाउन नगरपालिकाले बुढानीलकण्ठबाट नागी गुम्बाको फेदसम्म १८ वटा बसको व्यवस्था गरेको थियो । त्यसपछि सहभागीहरू पैदल यात्रा गर्दै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने नागी गुम्बा हुँदै पवित्र बागद्वारसम्म पुगेका हुन ।

उपप्रमुख लामाले पदयात्राका क्रममा फोहोर नगर्न आग्रह गरेकी थिइन् । त्यसैगरी आफ्नो सामानको सुरक्षा गर्न र पदयात्राको बाटोबाहेक अन्य बाटोमा नहिड्न ध्यानाकर्षण गराएकी थिइन् । एक्लै हिँड्दा बाटो विराउन सक्ने, सञ्चार सम्पर्क टुट्न सक्ने, वन्यजन्तुको आक्रमण जस्ता जोखिम भएकाले एकअर्काको साथ नछोड्न उनले आग्रह गरिन् । पदयात्रामा १६ सय जनाभन्दा धेरै सहभागि रहेको लामाले जानकारी दिइन् ।
लामाले पदयात्राले समुदायबीच सहकार्य र सद्भाव बढाउनुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । उनले स्थानीय तहले जनताको सहभागितामूलक विकासमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आइरहेको र नीति तथा बजेट कार्यक्रममा पनि समावेश गराइएको बताइन्।

पदयात्रामा स्थानीय बासिन्दा, युवायुवती, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए । करिब २ घण्टाको पदयात्रापछि बाघद्धार पुगेर स्नान गरिएको थियो ।
नगरपालिकाले प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा यस्ता पदयात्रा तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यसले स्थानीय पर्यटन प्रवद्र्धनसँगै बुढानीलकण्ठ क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
































