काठमाडौँ, १४ फागुन : निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
आयोगले स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनसम्बन्धी व्यवस्थापकीय काम निरन्तर भइरहेको जनाउँदै सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदानस्थलमै उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसका लागि सम्बन्धित निकायसँग समन्वय अघि बढाइएको छ।
आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरेको जनाएको छ।
साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकारलगायत सरोकारवाला निकायसँग निरन्तर सहकार्य गरिरहेको जनाएको छ।
मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने सिफारिस आयोगबाट भएअनुसार नेपाल सरकारबाट निर्णयसमेत भइसकेको छ।
यसैगरी, मतदान प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गर्न मतदान केन्द्र कायम गरिएका शिक्षण संस्था, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सरकारी संरचना तथा त्यहाँ रहेका भौतिक सम्पत्ति फागुन १९ गतेदेखि २१ गतेसम्म प्रयोग गर्न मिल्ने व्यवस्था गर्न सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरिएको छ।
यस विषयमा गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पत्राचार भइसकेको आयोगले जनाएको छ।
आयोगले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आवश्यक सहयोग उपलब्ध गराई निर्वाचन सफल बनाउन आग्रह गरेको छ।
































