काठमाडौँ, १३ फागुन:
नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा थप प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ।
समीक्षा कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव अञ्जु ढुङ्गानाले महिला तथा बालबालिकाको संरक्षण तथा ‘संरक्षण (सेफगार्डिङ)’ सम्बन्धी सरकारी नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभयो।
कार्यक्रममा s (अन्तर्राष्ट्रिय रेडक्रस समिति), (रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ), ब्रिटिस रेडक्रस, अमेरिकन रेडक्रस, फिनिस रेडक्रस, स्वीस रेडक्रस र डेनिस रेडक्रस) लगायतका साझेदार राष्ट्रिय सोसाइटी तथा नेपाल रेडक्रसका प्रतिनिधिहरूले ‘संरक्षण (सेफगार्डिङ)’सम्बन्धी देखिएका चुनौती, सचेतना अभिवृद्धि, उजुरी सङ्कलन, समयमै सम्बोधन तथा पीडितलाई सहयोगका विषयलाई आगामी दिनमा प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल रेडक्रस ‘संरक्षण (सेफगार्डिङ)’ कार्यक्रम संयोजक सुभेच्छा मानन्धरले संरक्षण लक्षित सम्पन्न गतिविधि तथा नेपाल रेडक्रस केन्द्र र प्रदेशस्तरीय सङ्गठनात्मक मूल्याङ्कनबारे जानकारी दिनुभयो। समूहगत छलफलबाट संरक्षण प्रणाली सुदृढ गर्न सिफारिस (रिफरल) प्रणाली प्रभावकारी बनाउने र गोप्य सूचना दिने व्यक्तिलाई संरक्षण गर्ने विषयमा विशेष ध्यान दिने निष्कर्ष निकालिएको छ।
आयोजकका तर्फबाट नेपाल रेडक्रस संरक्षण, लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलले विगतका संरक्षण गतिविधिबाट सकारात्मक नतिजा आएको बताउनुभयो। उहाँले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समुदाय र सहायताकर्मीलाई सबै प्रकारका दुव्र्यवहार तथा विभेदबाट जोगाउने संस्कृति विकास गर्न तथा प्रभावित–केन्द्रित अवधारणा लागू गर्न सबै तहका स्वयंसेवक र कर्मचारीलाई प्रेरित गरिने जानकारी दिनुभयो।
नेपाल रेडक्रसले यौन शोषण, दुव्र्यवहार तथा उत्पीडनप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको जनाएको छ।
































