काठमाडौँ, ८ फागुन : हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ। भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा हुने यो एक दिने प्रतियोगिता ‘बगहाउस फर्म्याट’मा सञ्चालन गरिनेछ। आयोजक हिमालयन चेस एकेडेमीका अनुसार प्रत्येक टिममा दुई खेलाडी हुनेछन्। यसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ। दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन, तर दुवै अनरेटेड हुनसक्नेछन्। प्रतियोगिता स्वीस प्रणालीअनुसार पाँच राउन्ड खेलाइनेछ। प्रत्येक राउन्ड पाँच मिनेटको हुनेछ। टिम निर्माणमा परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी वा छिमेकीलाई संलग्न गर्नुपर्ने बताइएको छ। कुल १५ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा उपाधि जित्ने टिमले ट्रफी, मेडलसँगै ७ हजार रुपैयाँ पाउनेछ। उपविजेताले ५ हजार र तेस्रो हुने टिमले ३ हजार रुपैयाँ हात पार्नेछ। गत वर्षको पहिलो संस्करणमा सुजन काफ्ले र सविन खतिवडाको टिम ‘नाइटमेर कजिन्स’ च्याम्पियन भएको थियो। अनमोल राई र प्रवीर केसीको ‘गोथ नाइट्स’ उपविजेता भए भने लियोन महर्जन र शुभ तुल्स्यानको टिम ‘नाइट्स ग्याम्बिट’ तेस्रो स्थानमा रहेको थियो। एकेडेमीको थापाथलीस्थित आफ्नै हलमा आयोजित पहिलो संस्करणमा १७ टिम सहभागी थिए। अब भक्तपुर शाखा रहेको योङ लर्नस् (रिडर्स हवसँगै) मा दोस्रो संस्करण आयोजना हुन लागेको हो। २०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालन भएको हिमालयन चेस एकेडेमीले हालसम्म ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १२ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। हिमालयन डुओको दोस्रो संस्करण यसैको १३ औं प्रतियोगिता हुनेछ।