फोहर व्यवस्थापन र उपत्यकाको पूर्वाधार सुधारका लागि सरकारसँग सहकार्य गर्ने
फोहर व्यवस्थापन र उपत्यकाको पूर्वाधार सुधारका लागि सरकारसँग सहकार्य गर्ने
काठमाडौँ, ८ फागुन : उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पन्न फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ। फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनको विधि र प्रविधि अध्ययन गर्नुका साथै सबै स्थानीय तहबीच आवश्यक समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने जनाएको छ। काठमाडौँमा फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३औँ बैठकले गोदावरीदेखि बूढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ। अध्यक्ष महर्जनले बैठकपछि मेट्रो अवधारणा कार्यान्वयनका लागि सङ्घ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरू तत्पर रहेको उल्लेख गर्दै, पूर्वाधार निर्माण र सञ्चालनका लागि तयार रहेको जानकारी दिनुभयो। बैठकमा कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता, सांस्कृतिक र सामाजिक चालचलनलाई समेटेर उपयुक्त पूर्वाधार निर्माण गर्न सरकारसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले विगतका अध्ययनहरूको पुनरावलोकन गरेर उपयुक्त प्रणालीको निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो। महत्वपूर्ण विषयहरूमा फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी वितरण, नदी सभ्यता संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनका असर कम गर्ने कार्यहरू समावेश छन्। बैठकले यी चुनौतीहरूको समाधानका लागि स्थानीय तह र फोरमबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।