कुनै पनि किसिमको मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

कुनै पनि किसिमको मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ, ७ फागुन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सञ्चारमाध्यमसँग कुनै पनि किसिमको मत सर्वेक्षण नगर्न अनुरोध गर्नुभएको छ। दशौँ निर्वाचन दिवसका अवसरमा आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कारबाही गरिने जानकारी दिनुभयो। भण्डारीले निर्वाचनका समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्न सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “राजनीतिक दलका समर्थकले पनि निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचन गराउनतिर लाग्नुस्, सामाजिक सञ्जाल प्रयोग गरेर कसैलाई मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भई काम गरौँ। निर्वाचनमा सामाजिक सञ्जाल पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा ध्यान दिऔँ।” मतदातालाई कसैको दबाब वा प्रभावमा नपरी सही प्रतिनिधि छान्न आह्वान गर्दै उहाँले सुरक्षासम्बन्धी बैठकमार्फत नीति र रणनीति तय भइरहेको जानकारी पनि दिनुभयो। निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा जिल्लाजिल्लामा निर्वाचन अधिकृतको कार्यालयले कारबाही गर्ने चेतावनी पनि भण्डारीले दिनुभयो। उहाँले मतदाता शिक्षामा संलग्न स्वयंसेवक, कर्मचारी, सुरक्षाकर्मी र सबै जिम्मेवारलाई “धेरै भन्दा धेरै मत खसाल्ने र खसेका मत सबै सदर गर्ने” उच्च मनोबलका साथ सचेत भएर काम गर्न आग्रह गर्नुभयो। आयोगका सचिव कृष्णबहादुर राउतले फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाजिल्लामा मतदान अधिकृत तोक्ने र तालिम दिने काम भइरहेको जानकारी दिनुभयो। आयोगले निर्वाचन शिक्षासम्बन्धी सामग्रीहरू वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमा राखिरहेको पनि उहाँले उल्लेख गर्नुभयो। सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले २०१५ साल फागुन ७ गते नेपालमा पहिलोपटक निर्वाचन भएको सम्झनामा आयोगले २०७३ साल फागुन ७ गतेदेखि निर्वाचन दिवस मनाउन थालेको जानकारी दिनुभयो। यस दिन नागरिकले मत हालेर सार्वभौम अधिकार प्रयोग गरेको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाइँदै आएको छ।

Tokha