निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको प्रधानमन्त्री कार्कीको भनाइ
निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको प्रधानमन्त्री कार्कीको भनाइ
काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले सम्पूर्ण तागत लगाएको बताउनुभएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनबाट आउँने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगरी सुधारको अवसरको रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र हेरिनु हुँदैन। यो त खासमा जीवनशैली हो। यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ।” उहाँले लोकतन्त्र केवल प्रक्रिया नभएको, यसले परिणाम दिनुपर्ने कुरा पनि स्पष्ट पार्नुभयो। “विधिको शासन आवश्यक छ, तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु लोकतन्त्रको अभ्यास होइन। यो त बेथिति हो।” प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै सुशासन, पारदर्शिता, समन्वय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने प्रयास अभिमुख रहेको जानकारी दिनुभयो। उहाँले प्रजातन्त्र दिवसले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्दै राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बन्नुपर्नेमा जोड दिनुभयो। “हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता हो। ठूलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरु खाली हुनुको प्रमुख कारण यही हो,” उहाँले भन्नुभयो।