यातायात घटेसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा कमी

यातायात घटेसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा कमी

काठमाडौँ, ६ फागुनः सार्वजनिक बिदा र सवारीसाधनको आवागमनमा कमी आउँदा काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ। ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा रहेको छ। मङ्गलबार दिउँसो १३:०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ पुगेको थियो भने आज सोही समयमा घटेर ११४ मा झरेको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर बनेको थियो भने आज १४ औँ स्थानमा झरेको छ। हाल पाकिस्तानको लाहोर १९३ एक्युआईसहित पहिलो र सेनेगलको डकार १९२ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन्। वातावरणविद् भुषण तुलाधारका अनुसार सवारीसाधनको धुवाँ प्रत्यक्ष रूपमा वायु प्रदूषण बढाउने मुख्य कारण हो। “गत माघ १ गतेदेखि इँटाभट्टा सञ्चालनमा आएका छन्, जसबाट निस्कने धुवाँ र धुलो पनि प्रदूषणको अर्को कारण हो,” उहाँले बताउनुभयो। फोहोर जलाउने प्रवृत्ति र डढेलोको मौसम सुरु हुनु पनि प्रदूषण बढ्ने जोखिमका कारक हुन्। तुलाधारले समयमै पूर्वतयारी, पातपात व्यवस्थापन, डढेलो नियन्त्रण, तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइ आवश्यक रहेको सुझाव दिनुभयो। प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सार्वजनिक बिदाका दिन करिब १० प्रतिशतले यातायातको चाप घट्ने गरेको छ। “सार्वजनिक यातायातका कारण प्रदूषण बढ्ने कुरा सत्य हो। विस्तारै विद्युतीय बस (ईभी) को सङ्ख्या बढ्दै गएकोले सकारात्मक प्रभाव पर्ने अपेक्षा छ,” उहाँले भन्नुभयो। एक्युआई अनुसार ०–५० ‘राम्रो’ (हरियो), ५१–१०० ‘सचेत रहनुपर्ने’ (पहेंलो), १०१–१५० ‘अस्वस्थ’ (विशेषगरी श्वासप्रश्वास र मुटु रोगी प्रभावित), १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेमा सरकारले विपद्का रूपमा मान्दै फोहोर जलाउने रोकथाम, सडक सफाइ प्रवर्द्धन, र संवेदनशील समुदायका लागि विशेष सार्वजनिक सूचना जारी गर्ने प्रावधान छ। राष्ट्रिय वातावरण नीति, २०७६ ले जल, वायु, माटो, ध्वनि लगायतका प्रदूषण न्यूनीकरणका लागि मापदण्ड तयार गरी कार्यान्वयन गर्ने र प्रमुख सहर तथा जोखिमयुक्त क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गरी नियमित अनुगमन गर्ने रणनीति अघि सारेको छ।

Tokha