जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पेस्तोल र गोली प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार कनकाई नगरपालिका-८ का २२ वर्षीय सुजय राजवंशी पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा प्रहरीले आइतबार स्थानीय तुलबहादुर थापा मगरको घरमा छापा मारेको थियो।

छापामारीका क्रममा घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएर राखिएको ९ एमएमको एक थान पेस्तोल र ४० राउन्ड गोली फेला पारिएको प्रहरीले जनाएको छ। ती हतियार तुलबहादुरका २२ वर्षीय छोरा सौगात थापा मगरले लुकाइराखेको आशंका गरिएको छ।

घटनामा संलग्न सौगात हाल फरार रहेकाले उनको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका राजवंशीमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले यस्ता अवैध गतिविधिविरुद्ध समुदायको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शान्ति सुरक्षा कायम गर्न थप सतर्कता अपनाइएको जनाएको छ।

Tokha