फरार सात कैदी पक्राउ, सम्बन्धित कारागारमा फर्काइयो
फरार सात कैदी पक्राउ, सम्बन्धित कारागारमा फर्काइयो
काठमाडौँ, ४ फागुन: गत भदौमा भएको आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई खोजी गरी नियन्त्रणमा लिएको र आज सार्वजनिक गरेको जनाएको छ। प्रहरीका अनुसार आन्दोलनको अव्यवस्थित परिस्थितिमा फरार भएका ती व्यक्तिहरू विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका थिए। पक्राउ परेकामध्ये तेन्जिङबहादुर तामाङ, प्रितम गुरुङ, बविता तामाङ, विक्रम नेपाली, भुवन तामाङ (दोलखा), भुवन तामाङ (सिन्धुली) तथा भारतीय नागरिक रोशन साह रहेका छन्। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार विभिन्न मुद्दामा सजाय भोगिरहेका उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा पुनः पठाइएको छ। प्रहरीले फरार कैदीको खोजी अभियानलाई निरन्तरता दिँदै कानूनको दायराबाट कसैलाई बाहिर रहन नदिने प्रतिबद्धता पनि जनाएको छ।