सुर्खेत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका कर्णाली प्रदेशकै पहिलो बनेको छ । कर्णालीका ७९ स्थानीय सरकार मध्ये उत्कृष्ट अंकसहित चोरजहारी पहिलो बनेको हो ।
आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकनमा चौरजहारीले कुल अंकमा ८२.१५ प्रतिशत अंक प्राप्त गरेको हो ।
आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे-नगरेकोदेखि समयमा बजेट पास भए-नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकको आधारमा वित्त आयोगले स्थानीयतहको मूल्यांकन गरेको थियो ।
वित्त आयोगको प्रतिवेदनले आगामी दिन अझै प्रभावकारी रुपमा काम गर्ने उर्जा मिलेको चौरजहारी नगरपालिकाले जनाएको छ ।
जाजरकोटको भेरी नगरपालिकाले ७६.९६ अंक प्राप्त गरेर दोस्रो, रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिकाले ७४.९० अंक प्राप्त गरी तेस्रो भएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाले ७३.९२ प्रतिशत अंक ल्याएर चौथो र डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाले ७३.५ अंक ल्याएर पाचौ स्थानमा रहेका छन् ।
त्यस्तै सल्यानको छत्रेश्वरी गाउँपालिका ७२.२५ अंकसहित प्रदेशभर छैठौ, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका ७१.८६ अंकसहित सातौ, हुम्लाको खार्पुनाथ गाउँपालिका ७१.६९ अंक ल्याएर आठौं स्थान, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६८.९१ अंकसहित नवौ र रुकुम पश्चिमकै मुसिकोट नगरपालिका ६७.२२ अंकसहित दशौ स्थानमा पर्न सफल भएको छ ।
सबैभन्दा पुछारमा रहेको दैलेखको भैरवी गाउँपालिकाले ३९.७९ अंक ल्याएको छ भने पुछारबाट दोस्रो नम्बरमा रहेको कालिकोटको शान्नित्रिवेणी गाउँपालिकाले ४१.६९ प्रतिशत अंक ल्याएको छ । आयोगको मूल्यांकन आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिश गर्दा लिइने आधारमध्ये एक हो । धेरै अंक ल्याउने सरकारले बढी अनुदान पाउने गर्छन् । आयोगले स्थानीय तहमा १७ सूचकका आधारमा मूल्यांकन गरेको हो ।
































