देश बनाउने नेतालाई खलनायक बनाउन खोजिएको नारायण सिलवालको आरोप

देश बनाउने नेतालाई खलनायक बनाउन खोजिएको नारायण सिलवालको आरोप

काठमाडौं । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्व सांसद नारायण सिलवालले देश बनाउनका लागि नेकपा एमालेले जिम्मेवारी पाउनुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा सिलवालले एमालेले सिँचाई योजना, पूर्व पश्चिम राजमार्ग, फास्ट ट्रयाक निर्माणलगायतका धेरै कामको सुरुवात गरे पनि पूरा गर्न नपाएको बताए । देशमै रोजगारी सृजना गरेर विदेश पलायन रोक्ने गरी काम गर्दा घेराबन्दी गरिएको बताए ।

राम्रो काम र लोकप्रियता देखेर एमालेलाई खेद्ने काम गरिएको सिलवालको भनाइ छ । देशका लागि योगदान दिएको दल र नेतालाई खलनायक बनाउन खोज्नेहरुले देश जलाएको सिलवालको आरोप छ । एमाले अध्यक्ष केपी ओलीविरोधीलाई संकेत गर्दै सिलवालले बालबच्चा नभएका एक जना नेता, जसले आफ्नो सम्पत्ति राज्यलाई हस्तान्तरण गरे, उसैलाई खेद्ने काम गरिएको बताए ।

नेता सिलवालले काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलको आवश्यकता रहेको बताए । दायित्व पूरा गर्नका लागि पोखरेलको आवश्यकता परेको उल्लेख गर्दै उनले संसदमा खेलेको भूमिकाको स्मरण गरे ।

काठमाडौं महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विरेन्द्र प्रजापती नेतृत्वको टिमले हाँडीगाउँको ऐतिहासिक सम्पदालाई नयाँ उचाइमा पुर्याएको सिलवालको भनाइ छ । यसअघि भरत केसीले सुरुवात गरेको कामलाई प्रजापतीले अघि बढाएको सिलवाल बताउँछन् ।

एमालेबाहेकले चुनाव जितेका बेला कुनै पनि काम हुन नसकेको आरोप लगाउँदै सिलवालले विकास निर्माणका लागि एमालेको विकल्प नभएको बताए । गलत व्यक्तिलाई चुनावमा जनताले चिन्नुपर्ने उनको तर्क छ ।

एमालेले महाधिवेशनबाट नयाँ म्याण्डेट लिएर चुनावी मैदानमा उत्रिएको सिलवालको भनाइ छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले सामाजिक सञ्जालको दुरुपयोग गर्दे अफवाह फैल्याइएको आरोप लगाए । एमालेलाई बदनाम गराउनका लागि विरोधीहरुले सामाजिक सञ्जालमाफर्त गलत सन्देश दिन खोजेकोले सचेत हुनुपर्ने उनको भनाइ छ ।

वडा नम्बर ५ मा पर्ने हाँडीगाउँको सांस्कृति, धार्मिक र पर्यटन क्षेत्रको काम ऐतिहासिक रुपमा अघि बढिरहेको उनले जानकारी दिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रत्न गुरङ, काठमाडौं– ५ का संयोजक किरण शाह, अध्यक्ष प्रेम दाहाल, जिल्ला कमिटी सदस्य सकुन्तला पोखरेल, महानगर कमिटी अध्यक्ष गणेश श्रेष्ठलगायतको उपस्थिती थियो । एमालेको वडा कमिटी सचिव रमेश रोकायाले कार्यक्रम सन्चालन गरेका थिए ।

Tokha