काठमाडौं । नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष (पूर्व महासचिव) ईश्वर पोखरेलले आगामी निर्वाचन जनमत संग्रह भएको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ को उम्मेदवारसमेत रहेका पोखरेलले निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन केवल निर्वाचन मात्र नभएर जनमत संग्रह पनि भएको बताएका हुन् । देश बनाउने र देश जलाउनेबीचको प्रतिस्पर्धा भएको उनको भनाइ छ । “देश जलाउनेहरु हार्नैपर्छ यसपटकको लडाई देश बनाउने र देश जलाउनेहरुको हो सवाल ईश्वर पोखरेलको होइन, मुद्धाको हो ।” पोखरेलले भने ।
आफ्नो उम्मेद्वारीको औचित्य पुष्टी गर्दै उनले पार्टीको तल्लो तहबाट सिफारिस भएर केन्द्रले अघि सारेको बताए । आफ्नो उम्मेदवारी उचित हुन्छ कि हुँदैन भनेर पार्टीका साथीहरुसँग सल्लाह गरेर अघि बढेको पोखरेलले बताए । चुनौतीकाबीच पनि आफ्नो उम्मेदवारी आवश्यक छ भन्ने निष्कर्ष निकालेर मैदानमा उत्रिएको उनको भनाइ छ ।
झण्डै ३५ वर्षदेखि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा सक्रिय भएको उल्लेख गर्दै उनले आफूलाई यहाँका जनताले साथ दिएको बताए । मतदाताले विश्वासको मत दिनेमा ढुक्क रहेको पोखरेलले बताए । विगतमा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न यो निर्वाचनमा एमालेले जित्नुपर्ने उनको भनाइ छ ।
उनले भने– “देशको हितमा सधैँभरी खडा हुनेछु । स्वतन्त्रता र अखण्डताको पक्षमा म सधैँ उभिइरहन्छु । म तपाईलाई बचन दिन चाहन्छु, देशको अहित हुने कुरा मबाट हुनेछैन ।”
देशमा जातीय सद्भाव कायम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै उनले नेपाल विभिन्न जात, धर्म, संस्कार र भूगोलको मिश्रण भएको बताए । जाति जातिबीच सद्भाव खलबल्याउने तत्वबाट देशलाई बचाउनुपर्ने उनको भनाइ छ । सद्भाव कायम नरहने हो भने देश नै नरहन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए ।
देशलाई बर्बादीबाट जोगाउनका लागि एमाले बलियो हुनुपर्ने पोखरेलको भनाइ छ ।
पोखरेलले विगतमा सुरु भएका विकास निर्माणका कामलाई जारी राख्नुपर्ने बताए । “पूर्वपश्चिम राजमार्ग विस्तार, उत्तर दक्षिण राजमार्ग, मदन भण्डारी राजमार्गलाई अन्तिम रुप दिनुपर्ने छ ।” पोखरेलले भने । सुनकोशी मरिन डाइभर्सन निर्माण सम्पन्न गरेर सिंचाईमा कायापलट गर्नुपर्ने उनको भनाइ छ ।
भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम राख्ने काम पूरा हुन नपाएको भन्दै त्यसलाई पनि पूर्णता दिनका लागि एमालेको आवश्यक रहेको पोखरेल बताउँछन् । एमालेकै नेताहरुले भ्रष्टाचार र अनियमितता गर्यो भने त्यस्तालाई एमालेमा ठाउँ नरहने पोखरेले स्पष्ट पारे । विरोधीहरुले झुटा भ्रम र फत्तुर लगाउन सक्नेतर्फ सचेत हुनुपर्ने तर दोषी ठहर भए कानुनबमोजिम कारबाही गर्नुपर्ने उनले बताए ।
पोखरेलले आफू कानुनविपरित र अनैतिक कामबाट सधैँ टाढा रहने बाचा गरेका छन् ।
पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने हाँडीगाउँ क्षेत्रलाई पर्यटकीय, धार्मिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय जनप्रतिनिधिको साथ लिएर आफूले काम गर्ने उनको भनाइ छ ।
मनमा भएको सूर्यलाई मुखबाट पनि प्रकट गर्न पोखरेलले कार्यकर्तालाई सुझाब दिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले सामाजिक सञ्जालको दुरुपयोग गर्दे अफवाह फैल्याइएको आरोप लगाए । एमालेलाई बदनाम गराउनका लागि विरोधीहरुले सामाजिक सञ्जालमाफर्त गलत सन्देश दिन खोजेकोले सचेत हुनुपर्ने उनको भनाइ छ ।
वडा नम्बर ५ मा पर्ने हाँडीगाउँको सांस्कृति, धार्मिक र पर्यटन क्षेत्रको काम ऐतिहासिक रुपमा अघि बढिरहेको उनले जानकारी दिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रत्न गुरङ, काठमाडौं– ५ का संयोजक किरण शाह, अध्यक्ष प्रेम दाहाल, जिल्ला कमिटी सदस्य सकुन्तला पोखरेल, महानगर कमिटी अध्यक्ष गणेश श्रेष्ठलगायतको उपस्थिती थियो । एमालेको वडा कमिटी सचिव रमेश रोकायाले कार्यक्रम सन्चालन गरेका थिए ।
































