काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका ३ सय २० कम्पनीमध्ये १ सय ७० कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजार सूचकमा देखिएको हो ।
बुधबार ५ अंकले बढेको नेप्से परिसूचक बिहीबार १७.५३ अंक घटेर २ हजार ७१४.०५ बिन्दुमा झरेको छ । कारोबार सुरु हुँदा नेप्से २ हजार ७३१.५९ अंकमा रहेको थियो । यससँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेको छ ।
यद्यपि, बजार सूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार आएको छ । बुधबार ११ अर्ब रुपैयाँको कारोबार भएकोमा बिहीबार बढेर १४ अर्ब ५६ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । यो साता कुल कारोबार रकम १६ अर्ब रुपैयाँ नाघिसकेको छ ।
लगानीकर्ताहरूका अनुसार आगामी २१ फागुनमा हुने निर्वाचनका लागि खर्च जुटाउन केही लगानीकर्ताले सेयर बिक्री गरेकाले बजारमा दबाब परेको हुन सक्ने अनुमान गरिएको छ । सेयर मूल्य घटे पनि कारोबार रकम बढेकाले बजारमा पुनः लगानीकर्ता प्रवेश गर्ने आशा भने कायम रहेको उनीहरूको भनाइ छ ।
बिहीबार नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन हिमालय दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
समूहगत परिसूचकमध्ये बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल ९८.९४, जीवन बिमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बिमा ७६.८३, अन्य २७.४० र व्यापार ६.७१ अंकले घटेका छन् ।
तर जलविद्युत् १३.७७, लगानी ०.०५ र सामूहिक लगानी कोष ०.०७ अंकले बढे पनि त्यसको प्रभाव समग्र नेप्से परिसूचकमा पर्न सकेन ।
नेप्सेका अनुसार बिहीबार १ लाख ३८ हजार ८ सय ८३ कारोबारबाट ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद-बिक्री भएको हो ।

































