१४ जीवन बिमा कम्पनीले बेचे सवा करोड पोलिसी, साढे ९४ अर्बको व्यापार हुँदा नेपाल लाइफ अग्रस्थानमा

१४ जीवन बिमा कम्पनीले बेचे सवा करोड पोलिसी, साढे ९४ अर्बको व्यापार हुँदा नेपाल लाइफ अग्रस्थानमा

काठमाडौं । जीवन बिमा कम्पनीहरुले ६ महिनामा झन्डै १ खर्ब रुपैयाँको व्यापार गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्ममा जीवन बिमा कम्पनीहरुले ९४ अर्बभन्दा बढी बिमाशुल्क संकलन गरेका हुन् ।

बिमा प्राधिकरणले बुधबार प्रकाशन गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ बिमा कम्पनीले १ करोड १४ लाख ५५ हजार २३५ वटा बिमा पोलिसी बिक्री गरी ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले यो अवधिमा २५ अर्ब ५१ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । यो रकम सञ्चालनमा रहेका सबै कम्पनीहरुले गर्ने व्यापारको २७ प्रतिशतभन्दा धेरै हो ।

त्यस्तै नेसनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने एलआइसी नेपालले १० अर्ब २२ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले ८ अर्ब ६२ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय जीवन बिमा कम्पनीले ६ अर्ब ३३ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड, एसियन लाइफले ४ अर्ब ६४ करोड र सिटिजन लाइफले ४ अर्ब ४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड, मेट लाइफले ३ अर्ब २४ करोड, आइएमई लाइफले ३ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड, प्रभु महालक्ष्मीले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ११ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

Tokha