काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुन-चाँदीको मूल्य वृद्धि भएको छ । लगातार दोस्रो दिन बढेसँगै सुनको मूल्य दुई दिनमै प्रतितोला सात हजार सात सय रुपैयाँले उकालो लागेको हो ।
सोमबार प्रतितोला चार हजार ६ सय रुपैयाँले बढेको सुन मंगलबार थप तीन हजार एक सय रुपैयाँले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि मंगलबार बढेको छ । सोमबार प्रतितोला चार हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला एक सय ९५ रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रतिऔंस चार हजार चार सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

































