काठमाडौं । विश्व राजनीतिमा विकसित घटनाक्रमको असर नेपाली सुनचाँदी बजारमा प्रत्यक्ष रूपमा देखिएको छ । सोमबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च तहमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम गरिएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
किन बढ्यो सुनको मूल्य ?
अमेरिकाले भेनेजुयलामा गरेको सैन्य कारबाहीपछि उत्पन्न अन्तर्राष्ट्रिय तनावका कारण लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित भएका छन् । सोही कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलरभन्दा माथि पुगेको छ । शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले सोमबार खुलेसँगै मूल्यमा तीव्र उतारचढाव देखिएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै चाँदीको भाउमा पनि उल्लेख्य वृद्धि भएको छ। सोमबार चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको थियो ।

































