काठमाडौं । नेपाली बजारमा स्मार्टफोनप्रतिको आकर्षण तीव्र बन्दै गएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालमा १० लाख ७० हजार ६८० थान स्मार्टफोन आयात भएका छन् ।
भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म १९ अर्ब १३ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन नेपाल भित्रिएका हुन् । यस अवधिमा तीन अर्ब ५६ करोड बराबर भन्सार महसुल संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १५ अर्ब १८ करोड बराबरका ९ लाख ९० हजार थान स्मार्टफोन आयात भएका थिए । यस आधारमा चालू आर्थिक वर्षमा स्मार्टफोन आयात संख्या र मूल्य दुवैमा उल्लेख्य वृद्धि देखिएको छ ।
आयातमा चीन अग्रस्थानमा रहेको छ । चीनबाट मात्रै करिब १५ अर्ब मूल्य बराबरका नौ लाखभन्दा बढी थान स्मार्टफोन नेपाल भित्रिएका छन् ।
त्यसपछि भारत दोस्रो स्थानमा रहेको छ । भारतबाट तीन अर्ब ८७ करोड मूल्य बराबरका एक लाख ६२ हजार २४७ थान स्मार्टफोन आयात भएका छन् ।
अन्य मुलुकतर्फ हेर्दा, खाडी मुलुक कतारबाट एक करोड २५ लाख मूल्य बराबरका ६०४ थान, संयुक्त अरब इमिरेट्स (यूएई) बाट चार करोड ८८ लाख रुपैयाँ बराबरका ५१२ थान स्मार्टफोन भित्रिएका छन् ।
यसैगरी, अमेरिकाबाट पाँच करोड रुपैयाँ मूल्यका ४४४ थान, अष्ट्रेलियाबाट तीन करोड ३० लाख रुपैयाँ बराबरका २७८ थान, जापानबाट तीन करोड २२ लाख रुपैयाँ मूल्यका ४१४ थान तथा दक्षिण कोरियाबाट एक करोड १६ लाख रुपैयाँ बराबरका १६६ थान स्मार्टफोन आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ।

































