बाबु-बाजेका पालादेखि अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता ल्याउँदैछौँ : अध्यक्ष धर्मेन्द्र श्रेष्ठ

बाबु-बाजेका पालादेखि अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता ल्याउँदैछौँ : अध्यक्ष धर्मेन्द्र श्रेष्ठ

टोखा नगरपालिकामा २०७९ सालमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले गरेको कामको विभिन्न सन्दर्भ र समयमा चर्चा भइरहेको छ । समग्र नगरपालिकाले गरेको काम एउटा पाटो भयो भने वडाहरुको कामको चर्चा बेग्लै छ । यसैसन्दर्भमा वडा नम्बर दुईका अध्यक्ष धर्मेन्द्र श्रेष्ठसँग विशेष कुराकानी गरिएको छ । सेवा प्रवाहदेखि सम्पदा संरक्षणसम्म वडाले केके काम गर्यो त ? यावत प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

शिक्षा क्षेत्रमा केके काम गर्नुभयो । 

पहिलो प्राथमिकता शैक्षिक सुधारलाई दिनुपर्छ भनेर काम गरिरहेका छौँ । टोखा नगरपालिका वडा नम्बर २ मा रहेको चण्डेश्वरी स्कुल जस्ताको टहरामा सन्चालन भइरहेको थियो । उक्त स्कुलकलाई वडाको गौरवको आयोजनामा समावेश गरेर पुनर्निर्माण गरेका छौँ । पहिला १ सय २८ विद्यार्थी पढ्ने गर्दथे भने अहिले ५ सय विद्यार्थी छन् । भवन एउटा मात्र हुँदा पढ्न समस्या थियो । अहिले भवन विस्तार गरेका छौँ । नगरपालिकाले विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ ।

टोखा आफैँमा ऐतिहासिक र सम्पदाले भरिपूर्ण ठाउँ हो, यसलाई थप व्यवस्थित गर्न केको काम गर्नुभयो ?

टोखा ऐतिहासिक ठाउँ हो, सांस्कृतिक महत्व बोकेको सहर हो, यसैलाई मध्येनजर गरेर यहाँ भएका सम्पदाहरु मठ मन्दिर, पाटी पौवाहरु निर्माण गरिएको छ । टोखा–२ लाई हिलोमुक्त बनाउने अभियान सुरु गरेर बाटोमा ढुंगा र इट्टा छाप्ने काम गरेका छौँ । वडा नम्बर २ र ३ सम्पदाको खुला संग्रहालय हो । मठ मन्दिर, पाटी, पौवा, पोखरी, बाजागाजा पर्याप्त छ । सबै बाजाहरुको खलकहरु छ । संस्कृति जोगाउनका लागि बाजा खलकहरुलाई प्रशिक्षण दिने काम पनि गरिरहेका छौँ । चण्डेश्वरी मन्दिर छ, जहाँ शतिदेवी देह त्याग गरेको, दक्ष प्रजापतीले होम गरेको इतिहास छ । सपनातिर्थ मन्दिर पनि छ, जहाँ रहेको पोखरीमा कुष्टरोगीले नुहाउँदा निको भएको किवदन्ती छ । बज्रयोगिती मन्दिर क्षेत्रमा पदमार्ग बनाएका छौँ ।

जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि केके हुन् ?

स्वास्थ्य क्षेत्रमा पनि धेरै काम गरेका छौँ । हरेक नागरिकको घरमा गएर ५० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षणका लागि कार्ड बनाएका छौँ । घरघरमा स्वास्थ्यकर्मी, चिकित्सक लगेर जनताको स्वास्थ्य परीक्षण गर्नुका साथै हरेक व्यक्तिको विवरण संकलन गरेका छौँ । नियमित खोप कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिरहेका छौँ । स्वास्थ्य संस्थाका लागि भौतिक पूर्वाधार निर्माण भने गर्न सकिएको छैन, किनभने हामीलाई जग्गाप्राप्तीमा समस्या छ ।

खानेपानीको अवस्था कस्तो छ ?

खानेपानी अन्तरगत विभिन्न आयोजनाको डीपीआर बनाउने तथा टेण्डरमा जाने काम भइरहेको छ । तर कतिपय आयेजनामा खानेपानी आयोजना सञ्चालन गर्न लागेको ठाउँमा व्यक्तिले जग्गा हडपेका कारण केही समस्या भयो । प्रदेश सरकारको बजेटले सपनातिर्थमा डिप बोरिङ गर्यौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पानी ट्याङ्की बनाउनका लागि गौरवको योजनामा समावेश गरेका छौँ ।

खेल क्षेत्रमा केके गर्नुभयो ?

खेल क्षेत्रमा पनि धेरै लगानी गरेका छौँ । टोखा–२ मा पर्ने भगवती क्लबलाई वार्षिक रुपमा बजेट दिने गरेका छौँ । बी डिभिजनबाट ए मा लैजानका लागि नगरपालिकाले पनि १ करोड बजेट दिएको छ । अर्को गौरवको आयोजना थियो, तर राष्ट्रिय निकुञ्जसँग जोडिएको सार्वजनिक जग्गा भएकाले काम अघि बढ्न सकेको छैन । फुटसल, ब्याडमिन्टन खेल्ने व्यवस्थाका लागि पनि बेजट छुट्टयाउने गरेका छौँ । विद्यालयमा पनि खेलकूद कार्यक्रमका लागि योजना बनाउने गरेका छौँ ।

जताततै सार्वजनिक जग्गा असुरक्षित छ । यहाँको अवस्था के छ ?

सार्वजनिक जग्गा व्यवस्थापनमा धेरै समस्या छ । धेरै अगाडीदेखि भोगचलन हुँदै आएको, बाबु बराजुका पालादेखि अतिक्रमण भएकाले त्यसलाई विस्तारै फिर्ता ल्याउने काम भइरहेको छ । प्रयोग गरिरहेकालाई छोड्न लगाउने काम तीब्र गतिमा भइरहेको छ । टोखा नगरपालिका–२ अन्तर्गत चण्डेश्वरी अस्पताल नजिक सार्वजनिक जग्गामा ‘गलेपार्क’ परियोजनाको शिलान्यास सम्पन्न भएको छ । उक्त पार्कका लागि ५ करोड ९५ लाख रुपैयाँ खर्चै गर्दैछौँ ।

दैनिक सेवा प्रवाह कसरी प्रदान गरिरहनुभएको छ ?

सेवा प्रवाहलाई सहज र छरितो बनाएका छौँ । अनावश्यक झन्झट हुँदैन । प्रविधिमैत्री सेवालाई प्राथमिकता दिइरहेका छौँ । जन्म दर्ता विवाह दर्ता, मृत्यु दर्ता जस्ता काम
१५ देखि २० मिनेटभित्र सेवा दिने गरेका छौँ । भ्रष्टाचार कत्ति पनि हुँदैन । सबै काम अनलाइन र पारदर्शी छ । कसैले भ्रष्टाचार गर्छु भने पनि सम्भव छैन । कुनै पनि काम सम्पन्न गर्दा भ्रष्टाचार भएको पाएको छैन ।

कृषि पेशामा लाग्न चहानेले केके सुविधा पाएका छन् ?

कृषि तथा पशुपालनमा संलग्न कृषकलाई धेरै काममा सहज बनाएका र्छौँ । नगरपालिकामार्फत बिउ, मल, औषधि, टनेल ट्रयाक्टर उपलब्ध गराउने गरेका छौँ । वडामा दर्ता भएका कृषकलाई अनुदान र सकेसम्म निःशुल्क सेवा प्रदान गरेका छौँ । स्थानीय उत्पादनलाई विक्रि वितरण सहज बनाउने काम गरिरहेका छौँ । हाटबजार पनि सञ्चालन हुने गरेको छ ।

स्वरोजगारको क्षेत्रमा केके गर्नुभयो ?

युवा र महिला लक्षित सीपमुलक तालिम प्रदान गरेका छौँ । स्थानीय स्तरमै उद्यम सञ्चालन गर्नका लागि ब्यूटिसियन, सिलाई बुनाइ, पोतेमाला बनाउने, झोला बनाउने, जुत्ता बनाउने तालिम, साबन बनाउने, बेकरी तालिम, मोन्टेश्वरी तािलम दिइसकेका छौँ । तर अन्यको तुलनामा मोन्टेश्वरी तालिम धेरै प्रभावकारी भयो । अन्य तालिम लिएकाले पनि काम गरिरहेका छन् । तालिम लिइसकेपछि त्यसलार्ई प्रयोग गर्ने चाँही सम्बन्धित व्यक्तिले नै हो । तालिम लिएपछि उद्यमी बनोस् भनेर ५० प्रतिशत अनुदान पनि दिने गरेका छौँ ।

फोहोर व्यवस्थापनमा केके चुनौती छन् ?

फोहोर व्यवस्थापन ठूलो समस्याको रुपमाा देखा परेको छ । नागरिकले नै जथाभावी फोहोर फाल्ने प्रवृत्ति अन्त्य हुन सकेको छैन । फोहोर उठाउने व्यवस्था छ, पैसा पनि तिरिरहेका छन्, तर फोहोर भने जहाँ मन लाग्यो त्यही फालिदिन्छन् । स्थानीय क्लब र युवाहरुसँगको सहकार्यमा सरसफाई कार्यक्रम गरिरहेका छौँ । दीर्घकालिन समाधानका लागि डम्पिङ साइट बनाउने सोचका छौँ । फोहोर संकलन केन्द्र निर्माणका बारेमा पनि नगरपालिकाले सोचिरहेको छ । तर ठाउँको अभाव छ ।

Tokha