सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय पुग्यो

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय पुग्यो

काठमाडौं । सुनको मूल्यले लगातार सोमबार कीर्तिमान कायम राखेको छ । आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार मात्रै सुनले रेकर्ड बनाउँदै प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसभन्दा अगाडि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले वृद्धि हुँदै ३ हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीले भने यसअघि गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य कात्तिक ३ गतेको उच्च बिन्दु पार गर्न सकेको छैन । उक्त दिन सुन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलरसम्म पुगेको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ४ हजार ३७२ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Tokha