डेढ वर्षमा नगर अस्पतालको चमत्कार : बूढानीलकण्ठमा दैनिक ३०० बिरामीको उपचार, पाँच महिनामै एक करोड ८० लाख आम्दानी

डेढ वर्षमा नगर अस्पतालको चमत्कार : बूढानीलकण्ठमा दैनिक ३०० बिरामीको उपचार, पाँच महिनामै एक करोड ८० लाख आम्दानी

काठमाडौं । बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट तीन जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिए । ‘सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर शंका गर्नेहरू थिए । अहिले हाम्रो नगर अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवाबाट समेत दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको छ,’ अधिकारीले भने, ‘गत सोमबारदेखि बर्थिङ सेन्टरको समेत सुरुआत भएको छ ।’

अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो । संघ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको प्रमुख अधिकारीले जानकारी दिए । थप सेवा विस्तार गर्न मेडिकल सामग्री खरिद प्रक्रियामा रहेको पनि उनले जानकारी दिए ।

त्यसैगरी, नगरपालिकाका उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टरको सुरुआतले मातृशिुशु स्वाथ्यमा सुधार आउने विश्वास व्यक्त गरीन् । ‘हाम्रो नगरपालिका सहरी क्षेत्र भएको हुँदा घरमै बच्चा जन्माउने अवस्था त छैन तर नगर अस्पतालमा बर्थिङ सेन्टर थपिएपछि मातृशिशु स्वास्थ्यमा थप सुधार पक्का हुनेछ, लामाले भनिन्, ‘यो सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा कोशेढुंगा हो । अस्पतालमा थप सेवा विस्तार गरिरहेका छौँ ।’

आम्दानी पनि बढ्यो

सेवा लिने नागरिकको संख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको छ । गत आर्थिक वर्षमा अस्पतालले एक करोड १७ लाख आम्दानी गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामै एक करोड ८० लाख आम्दानी गरिसकेको छ ।

‘सेवासँगै आम्दानी बढ्दै जाँदा अस्पताल आर्थिक रूपमा सक्षम हुँदै गएको छ । तर सार्वजनिक स्वास्थ्य सेवामा नाफाघाटा मात्र हेरिँदैन । आवश्यकताअनुसार नगरपालिकाले भरपूर सहयोग गर्दै आएको छ,’ पोखरेलले भने, ‘अहिले अस्पतालमा ७० जना कर्मचारी कार्यरत छन् । थप सेवाहरू विस्तार गर्ने, प्राविधिक जनशक्ति थप्ने र आवश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको छ ।’

Tokha